गैंडाकोट, कार्तिक २९ । मधुमेह दिवसका अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत कलस्टर नम्बर ६ का १६ क्लब तथा एकता टोल विकास संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेह सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न गरेको छ।
स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रमका प्रमुख अतिथि ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमजेफ लायन दिनानाथ न्यौपानेले बताए । उनले यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । चिकित्सकीय सेवा र परामर्श सहितको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका डाक्टर उमनाथ अधिकारीले नेपालमा हाल अनुमानित तथ्याङ्कलाई हेर्दा ९ लाख भन्दा बढी मधुमेह रोगबाट पीडित रहेका र ३१ लाख नेपाली मधुमेह रोगको नजिक रहेको बताउँदै नियमित व्यायाम तथा खानपानमा सतर्कता अपनाउन सके मधुमेहबाट बच्न सकिने उनले आफ्नो मन्तव्यमा बताए। गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष रत्न प्रसाद सापकोटाले कार्यक्रममा आफ्नो वडामा लायन्स क्लबले आफ्नो गतिविधि अनुसारको स्वास्थ्य सेवा दिएकोमा आफूलाई खुसी लागेको बताउँदै लायन्स क्लबलाई धन्यवाद दिए ।
४६५ जनाले स्वास्थ्य शिविरबाट परामर्श सहित सेवा लिएको शिविरमा रु ३ लाख ५० हजार बराबरको विभिन्न प्रकारका औषधिहरु वितरण समेत गरिएको कार्यक्रमका संयोजक लायन किरणकुमार केसीले जानकारी दिए। कलस्टर नम्बर ६ का क्लस्टर चिफ लायन देशबन्धु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सिग्देलले लायन्स क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रममा शरदचन्द्र पण्डित, केदारनाथ न्यौपाने लगायत लायन शंकर नेपाल, राजेन्द्र गौतम, कृष्ण पाण्डे, नवराज कण्डेल लगायतको उपस्थिति रहेको थियो। मधुमेह समाज गैंडाकोटले सहकार्य गरेको उक्त शिविरलाई कालीगण्डकी सुपर स्पेसियालिटी क्लिनिक गैंडाकोटले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रम लायन सुशील कुमार लम्सालले सञ्चालन गरेका थिए।