काठमाडौं, कार्तिक ३०। दुई दिनअघि झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका नारायण नगरकोटीको शव अस्पतालबाट अझै उठेको छैन । मृतक परिवारसँग आर्थिक लेनदेनको कुरा नमिल्दा शव उठ्न नसकेको हो ।
बुधबार शंकरापुर- ९, इन्द्रायणीमा भुजेलले चलाएको गाडीले ठक्कर दिँदा कागेश्वरी मनहरा- २ आलापोटका ३८ वर्षीय नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा घाइते भएकी उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटीलाई सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रहरीले मृतकको परिवारसँग शव बुझ्नका लागि आग्रह गर्दा चालक भुजेलले मृतक र घाइतेलाई ‘यथोचित’ क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । भुजेलले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिन चाहेका छन् । तर, मृतकको परिवारले स्वीकार गरेको छैन । मध्यस्थतामा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘पीडित (मृतक) पक्ष प्रतिव्यक्ति ५० लाखभन्दा घट्न मञ्जुर भएन ।’
पत्नी सानुमायाको पनि अवस्था नाजुक छ । भेन्टिलेटरबाट दिइएको कृत्रिम श्वासप्रश्वासका कारणमात्र उनी जीवित रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने माग पीडित पक्षले गरेको छ ।
सवारी तथा यातायात ऐन २०४९ अन्तर्गत चल्ने सवारी ज्यान मुद्दामा मृतकका परिवारलाई पाँच लाख ५० हजार रुपैयाँसम्म जरिवाना दिनुपर्ने व्यवस्था छ । ऐनअनुसार घाइतेको सबै उपचार खर्च व्यहोर्नुपर्छ ।‘शव व्यवस्थापन गर्ने कुरा मानवीय विषय पनि भएका कारण कानुनमात्रै हेरेर पीडितले मान्ने अवस्था छैन’, ती प्रहरीले बताए ।
भुजेललाई सवारी ज्यानमा पनि कुन दफाअन्तर्गत मुद्दा चलाउने भन्ने कुरा हालसम्म तय भएको छैन । घटनास्थलको सीसीटीभी फुटेज संकलन भइरहेको र घटनाको प्रकृतिका अधारमा कानूनी दफा आकर्षत हुने प्रहरीले जनाएको छ । सवारी साधन चलाउँदा चालकको नियन्त्रणभन्दा बाहिर गएको मात्रै भए ऐनको दफा १६१ को उपदफा ३ आकर्षित हुन्छ । त्यसअन्तर्गत पीडितलाई क्षतिपूर्ति र बढीमा एक वर्षको सजाय तोकिएको छ ।
यदि लापरवाह तरिकाले सवारी साधन चलाएको पाइएमा उपदफा २ आकर्षित हुन्छ, जसअन्तर्गत बढीमा १० वर्षसम्मको कैद सजाय तोकिएको छ । यदि नियतवस दुर्घटना गराइएको भन्ने कुरा कुनै प्रमाणले खुलेमा दफा १६१ को उपदफा १ आकर्षित हुने व्यवस्था छ । त्यसअन्तर्गत बढीमा २० वर्षसम्म कैद सजाय तोकिएको छ ।
‘कुन दफाअन्तर्गत भुजेललाई मुद्दा चलाउने भन्ने कुरा उपलब्ध प्रमाणहरुको अध्ययनपछि मात्रै भन्न सकिन्छ’, अनुसन्धानरत प्रहरी अधिकृतले बताए ।नारायण नगरकोटी पूर्वमाओवादी लडाकु हुन् । नगरकोटी दम्पत्तिका १