गैंडाकोट, मङ्सिर २८ । अनौपचारिक शिक्षा केन्द्र बाट स्वीकृति प्राप्त भएको मौलाकालिका सामुदायिक सिकाई केन्द्र गैंडाकोटद्वारा कानुनी साक्षरता तथा जीवनपर्यन्त शिक्षा सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी गैंडाकोट जनक माविमा शुक्रबारदेखि सुरु भएको छ।
गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नगर उपप्रमुख कोइरालाले शिक्षा जनताको नैसर्गिक अधिकार भएकाले पनि आफ्नो नगरभित्र अशिक्षित नागरिकहरूलाई विभिन्न कार्यक्रमहरु मार्फत शिक्षा क्षेत्रमा लगानी गरी शिक्षित नगर बनाउन लागि परेको बताइन्। मौलाकालिका सिकाई केन्द्र गैंडाकोटका सभापति कमल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा प्रमुख बालकृष्ण चापागाईंले नगरभित्र रहेका अशिक्षित नागरिकहरूलाई यस्ता कार्यक्रमहरूले शिक्षाको पहुँच पुर्याएकोमा संस्थाको सराहना गरे। कार्यक्रममा वडा नम्बर १,४,५,६, र ८ का वडाध्यक्षहरू सुरेन्द्र प्रसाद रेग्मी, तेजप्रसाद घिमिरे, रत्नप्रसाद सापकोटा, सुभाष चापगाई र प्रेम सापकोटा जनक माविका प्राध्यापक चुडामणि कण्डेल शर्मा, अधिवक्ता दीपक सुवेदी लगायत चेलीमाया सारु मगर, प्रेम कुमारी बिक, धन माया परियार अतिथि रहेका थिए। उक्त तीन दिने कार्यशाला गोष्ठी मङ्सिर २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ।