चितवन, ६ पुस । रक्तक्यान्सर प्रभावित भुपराज पाठकको उपचार सहयोगार्थ चितवन भरतपुरस्थित एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
पाठकको उपचार सहयोगार्थ कन्सल्टेन्सीले शुक्रबार साँँझ एक कार्यक्रमको औपचारिक समुद्घाटनका अवसरमा उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
एक्सपर्टको एनुअल अवार्ड सेरेमनी (कर्मचारीहरुलाई वार्षिक सम्मान कार्यक्रम)को औपचारिक उद्घाटन स्वरुप सो रकम सहयोग भएको रक्तदान अभियन्ता समेत रहनुभएका उपाध्यक्ष न्यौपानेले बताउनुभयो । अवार्ड कार्यक्रममा बोल्दै सहयोग समितिका अर्का उपाध्यक्ष लम्सालले सहयोगका निम्ति एक्सपर्ट परिवारलाई कृतज्ञता व्यक्त गर्नुभयो ।
भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत रक्तक्यान्सर प्रभावित पाठकलाई दक्षिण एसियाकै चर्चित ब्लड क्यान्सर विशेषज्ञ डा. दिनेश भुरानीले उपचार सुरु गर्नुभएको हो । करीब ५० लाख खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न स्थानमा हाल उपचार सहयोग अभियान चलिरहेको छ । रक्तक्यान्सर प्रभावित पाठकको उपचारका लागि सानै भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो ।