
गैंडाकोट, फागुन ३ । नेवा देय: दवु गैंडाकोट नगर समिति तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा एक महिने निःशुल्क नेपाल भाषा तालिम शनिबार गैंडाकोटमा सम्पन्न भएको छ।
नेवा देय: दवु नगर अध्यक्ष शिवजंग श्रेष्ठको सभापतित्व तथा नवलपुर जिल्ला अध्यक्ष मित्रलाल श्रेष्ठको प्रमुख आतित्यतामा एक महिने नेपाल भाषा तालिमको समापन गरिएको हो। समापन समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपाल भाषा पाठ्यक्रम सबै उमेर समूहका विद्यार्थीका लागि सहज रूपमा सिक्न सक्नेगरी प्रकाशन गर्नुपर्नेमा जोड दिँदै उनले एक महिनासम्म सिकेको भाषालाई व्यवहारमा उतार्न सके आफ्नो भाषा र संस्कृति बचाउनका लागि ठूलो योगदान पुग्ने बताए ।
नितु मानन्धर राजभण्डारी प्रमुख प्रशिक्षक रहेको उक्त कार्यक्रममा कुल ३३ जना विद्यार्थी,महिला, पुरुषले नेपाल भाषाको तालिम लिएका थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक राजभण्डारीले सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरूले यसरी नेपाल भाषालाई प्राथमिकता दिएकोमा खुसी लागेको बताउँदै उनले व्यवहारिक शिक्षा कार्यान्वयन गरेर पाठ्यक्रमलाई सबैले बुझ्ने, रोचक र सहज बनाउनुपर्ने धारणा राखिन् । कार्यक्रममा नेवा देय: दवु केन्द्रीय सदस्य पद्मा श्रेष्ठ देबाजु, गण्डकी प्रदेश सदस्य काजीमान श्रेष्ठ, नेफिन नवलपुर अध्यक्ष राजकुमार श्रेष्ठ लगायत शर्मिला श्रेष्ठ सीता श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, ज्ञान कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायत अतिथिहरू रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रोशनी श्रेष्ठले राखेकी थिइन्। समापन समारोहलाई नेवा देय: दवु गैंडाकोट नगर समिति सचिव द्वय सविता श्रेष्ठ र राजकुमार श्रेष्ठले सहजीकरण गरेका थिए।