
गैंडाकोट, फागुन १३ । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समूहले आफ्नै कार्यालय परिसर भित्र महाशिवरात्रीका अवसर पारेर शिवको मूर्ति र समूहका संस्थापक अध्यक्ष शोभाखर रिमालको शालिक समेत रहेको हरित पार्क निर्माण गरेको छ।
बुधबार गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले पार्कसहितको मूर्तिहरू अनावरण गरेका हुन्। प्रमुख अतिथि गैंडाकोट नगरका मेयर अधिकारीले गैंडाकोट ४ मा रहेको खानेपानी संस्थाले आजसम्म स्वच्छ पानी उपभोक्तालाई दिन सफल भएको भएपनि आगामी दिनहरूमा उपभोक्ताका गुनासोहरूलाई अक्षरस सम्बोधन गर्न उनले आग्रह गरे।
गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै न्यौपानेले जनस्वास्थ्य, वातावरणीय दिगोपन र सामाजिक विकास प्रवर्द्धनमा संस्थाले आगामी दिनमा नवीनतम कार्यक्रम राख्दै जाने र संस्था आजको अवस्थासम्म आइपुग्नका लागि संस्थापक अध्यक्ष शोभाखर रिमालको अत्यन्तै ठूलो योगदान रहेकाले उहाँको योगदानलाई कदर गरी शालिक निर्माण गरेको बताए ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, नगर कांग्रेस सभापति बद्री सापकोटा, धनबहादुर पौडेल, दुर्गाजीत कुँवर, रोशनभक्त अधिकारी, महेन्द्र कार्की, कमला तिवारी, गोकुल सापकोटा, ओमप्रसाद सापकोटा, अस्मिता घिमिरे, शान्ति सुवेदी सापकोटा लगायत अतिथिहरू रहेका थिए। समूहका उपाध्यक्ष कृष्ण सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई सचिव केशवराज शर्माले सहजीकरण गरेका थिए।