
चितवन, फागुन २२ । आफैँले पढाउने बालिकालाई पटक पटक बलात्कार गर्ने चितवनका एक शिक्षकलाई जिल्ला अदालत चितवनले साढे १२ वर्ष जेल सजायको फैसला गरेको छ ।१४ वर्षकी बालिकालाई ब्रिज कोर्स पढाएका शिक्षक सन्तोष क्षेत्रीले पटक पटक बलात्कार गरेको अभियोगमा २०७९ चैत ५ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
मङ्गलवार जिल्ला अदालत चितवनका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले क्षेत्रीलाई १२ वर्ष ६ महिना कैद सजाय र पाँच लाख रुपियाँ जरिवानाको फैसला गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
सूचना अधिकारी विश्वकर्माका अनुसार फैसलामा पीडितलाई २ लाख क्षतिपूर्ति भराइदिने र पीडित राहत कोषमा प्रतिवादीको तर्फबाट २० हजार रुपियाँ जम्मा गर्नेगरी फैसला भएको हो । फागुन ६ गते जिल्ला अदालत चितवनले क्षेत्रीले कसुर गरेको ठहर गरेको थियो भने मङ्गलवार कसुर अध्ययन गरी सजायको फैसला गरेको हो ।
एसइइको परीक्षा दिएर ब्रिज कोर्स पढ्न गएको १४ वर्ष ७ महिनाकी बालिकालाई शिक्षक क्षेत्रीले पटक पटक बलात्कार गरेर कसैलाई भने परिवारलाई नै सिध्याइदिने धम्की दिएपछि बालिकाले परिवारसँग भन्न नसकी एक्लै प्रहरीमा गएर आफूमाथि भएको बलात्कारबारे जानकारी गराएकी थिइन् ।
त्यसपछिको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी प्रहरीले घटनाको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । क्षेत्री माध्यमिक तहका स्थायी शिक्षक पनि हुन् ।