गैँडाकोट, वैशाख २० । जयश्री फुड्स प्रा.लि ले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहान ७ बजे देखि जयश्री फुड्सको प्राङ्गगणमा सुरू भएको रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख मदन भक्त अधिकारीले गर्नुभएको थियो।
उद्योग स्थापना भएको १३ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो। रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन। जसमा पुरूष १०६ जना र महिला १२ जना रहेका छन्। ३२जनाले पहिलोपटक जयश्री फुड्स प्रा.लि ले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत रक्तदान गरेका छन्।
जयश्री फुड्स प्रालिका सञ्चालक एवम् जयश्री च्यारिटी नेपालका अध्यक्ष पवन कुमार अग्रवालले यस क्षेत्रमा दुर्घटनाका घटनाहरु धेरै हुने र रगतको माग अत्यधिक हुने भएकाले आफूले बर्सेनि रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो । कोही पनि बिरामी रगतको अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने आफूहरुको उद्देश्य भएको भन्दै अग्रवालले रक्तदान गर्दा रगत दिने व्यक्तिलाई पनि शारीरिक रुपमा फाइदा पुग्ने आफूले बुझेको बताउनुभयो ।
जयश्री फुड्सले यसअघि पनि नेपाल रेडक्रस सोसाईटी सँगको सहकार्यमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक, गैँडाकोट ९ स्थित नवजागरण ग्रामिण विकास केन्द्रले सहयोग गरेका थिए ।







