गैंडाकोट, जेठ १४ । गैंडाकोट नगरपालिका वडा नं ५ ले आफ्नो वडाभित्र रहेका महिलाहरुका लागि एक महिने बाद्यवादन प्रशिक्षण कार्यक्रम बुधबारबाट सुरुवात गरेको छ।
स्थानीय सांस्कृतिक कला प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको तालिममा हार्मोनियम, तबला, मादल लगायत परम्परागत बाजाहरूमा प्रशिक्षण दिइँदैछ। कार्यक्रमको उद्घाटन वडा अध्यक्ष रत्न प्रसाद सापकोटाले गरेका थिए। अध्यक्ष सापकोटाले सांगीतिक कला सशक्तिकरणले महिलाहरूमा आत्मविश्वास बढाउने र कला संगीतको संरक्षण हुने विश्वास व्यक्त गर्दै हाम्रा गाउँघरमा लोप हुँदै गएका परम्परागत बाजाहरूलाई बचाउन यस्ता तालिमले ठूलो भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा समाजसेवी तथा राजनीतिज्ञ गोविन्द घिमिरेले बाद्यवादनमा महिलाहरूको ठूलो सहभागिता हुनु सकारात्मक पक्ष भएकाले वडाले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै जानुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा वडा सदस्य द्रोर्ण वन सन्यासीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राखेका थिए ।
एक महिने उक्त प्रशिक्षण कार्यक्रममा वडा नम्बर ५ भित्रका १९ टोल विकास समितिका महिलाहरूको सहभागिता रहेको छ। संगीतकार द्वय राम बहादुर थापा र लेखनाथ न्यौपाने प्रशिक्षक रूपमा रहेका छन्। गामबेसी सस्कृतिक कला केन्द्र जिल्ला कार्यसमिति गैंडाकोटले उक्त कार्यक्रमको सहजीकरण गर्नेछ। कार्यक्रमलाई नगरकार्यपालिका सदस्य शान्ति न्यौपानेले सहजीकरण गरेकी थिइन्।







