यातायात व्यवसायीको बन्दले चितवन र नवलपुरको जनजीवन प्रभावित

गैँडाकोट, जेठ १९ । यातायात व्यवसायीहरूले आह्वान गरेको बन्दले सोमबार बिहानदेखि चितवन र नवलपुरको जनजीवन प्रभावित बनेको छ । सवारी साधनको अभावले यात्रुहरू बीच बाटोमै अलपत्र परिरहेका छन् भने बजार र व्यावसायिक गतिविधिमा समेत असर देखिएको छ ।

साना तथा ठूला सबै प्रकारका सार्वजनिक बसहरू बन्दका कारण सडकमा देखिएको छैनन् । विहानैदेखि कार्यालय, विद्यालय तथा अन्य दैनिक कार्यमा जाने सर्वसाधारण यात्रुहरू गाडीको प्रतीक्षामा बाटो छेउमै उभिएका छन् ।

चितवन प्रहरीका अनुसार सधैं भीडभाड रहने पुलचोक, लायन्सचोक, चौविसकोठी, हाकिमचोक लगायतका चोकहरू प्रायः सुनसान छन् । भरतपुर महानगरको विभिन्न क्षेत्रमा सामान्यतः देखिने सार्वजनिक गाडीको चहलपहल शून्यप्रायः भएको प्रहरीको भनाइ छ ।

यसैगरी नवलपुरको गैँडाकोट, रजहर, प्रगतीनगर, कावासोती लगायतका मुख्य व्यापारिक तथा आवासीय क्षेत्रहरूमा समेत सार्वजनिक सवारी साधन ठप्प छन् । यद्यपि ट्रक, अटोरिक्सा तथा निजी सवारी साधनहरू भने निर्वाध रूपले सञ्चालनमा रहेका छन् ।

नवलपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी) मधु नेपालका अनुसार जिल्लामा हालसम्म कुनै अप्रिय घटना नभएको र अवस्था शान्तिपूर्ण रहेको छ । प्रहरीले अवस्थालाई नियन्त्रणमा राख्न नियमित गस्ती तथा निगरानी बढाएको जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको