लगातारको वर्षाले सडकहरू अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) असार ०५ । लगातारको वर्षाले नारायणगढ–बुटवल सडक खण्डको विभिन्न भागमा समस्या सिर्जना गरेको छ । विशेषतः विनयी खोलामा आएको बाढीका कारण अस्थायी डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास–दाउन्ने सडकखण्डअन्तर्गत विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने अवस्था देखिएको छ ।

 

यस्तो परिस्थितिमा यात्रु तथा सवारी चालकहरूको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले अत्यावश्यक नपरी सो सडक खण्ड प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले निरन्तर वर्षाका कारण सडक सुधार तथा डाइभर्सन मर्मत कार्यमा अवरोध भएकाले वैकल्पिक रुटहरू नै हालको लागि सुरक्षित विकल्प हुने जानकारी दिएका छन् ।

 

यी हुन् वैकल्पिक रुटहरूः

 

१। पूर्वबाट पश्चिम जाने सवारीका लागि – नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान सकिने ।

 

२। काठमाडौँबाट पश्चिम जाने सवारीका लागि – मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै यात्रा गर्न अनुरोध ।

 

३। पश्चिमबाट पूर्व आउने सवारीका लागि – बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा आउन सकिने ।

 

४। साना सवारी साधनका लागि – अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट–पिपलडाँडा सडक प्रयोग गर्न सकिने ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको