राजमार्ग किनारैमा फोहोरको डङ्गुर वन र नदी किनारा प्रदूषित

गैडाकोट, असार २९ । सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय स्वच्छताको नाममा खोलिएका सामुदायिक वन क्षेत्रहरू स्वयं प्रदूषणको चपेटामा पर्न थालेका छन्। गैंडाकोट नगरपालिकाको वार्ड नं. ९/१० नजिकै महेन्द्र राजमार्गको छेउछाउमा रहेको सामुदायिक वन र नारायणी नदीको किनारा फोहोर थुपार्ने स्थल बन्दै गएको छ ।

ताजा घटनामा, एक बोलेरो गाडीमार्फत केही व्यक्तिहरूले फोहोर ल्याएर सोही संरक्षित क्षेत्रमै फालिरहेको दृश्य देखिएको छ । रेडियो संकेतले खिचेको तस्बिरमा गाडीको नम्बर प्लेटसहित फोहोर ओसारपसार भएको देखिन्छ। सो क्षेत्रमा बिना अनुमति यस्ता कार्य हुनु वातावरणीय अपराध मात्र नभई वन ऐनको समेत उल्लंघन हो । स्थानीय बासिन्दा र वातावरणप्रेमीहरूले यस्तो कार्यप्रति कम चासो राखेकाले पनि यस्ता कार्यहरू निरन्तर बढ्दै आएको र समग्र गैंडाकोटकै स्वरूपलाई कुरुप बनाउँदैछ । अझ भनौ गैंडाकोट फोहोरको डङ्गुर बन्दैछ। तर सम्बन्धित निकायको ठोस निगरानी र कारबाहीको अभावमा यस्तो प्रवृत्तिले निरन्तरता पाइरहेको छ ।

 

यसै विषयमा सबडिभिजन वन कार्यालयका फरिस्टर पाँचौं तहका कर्मचारी दिनेश केसीका अनुसार संरक्षित वन क्षेत्रमा फोहर फ्याँकेमा वा गरेमा १० हजारसम्म जरिवाना गराइने जानकारी दिँदै संरक्षित धार्मिक वन वा सामुदायिक वनले उक्त जरिवाना गराउन सक्ने प्रवर्धन रहेको बताए । गैंडाकोट वडा नम्बर ९ देखि वडा नम्बर १० सम्म पर्ने उक्त क्षेत्रमा हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा पर्ने वनहरू रहेका छन् । यस प्रकारका गैरकानुनी गतिविधि रोक्न नगरपालिका, डिभिजन वन कार्यालय, सामुदायिक एवं धार्मिक वन र मध्यवर्ती क्षेत्रका साथै प्रहरी प्रशासनले संयुक्त अनुगमन र कारबाही अघि बढाउन जरुरी देखिन्छ। विशेषगरी फोहोर फाल्ने गाडी र व्यक्तिहरूको पहिचान गरी कारबाही नभए समस्या बढ्ने देखिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको