नेपाली कांग्रेसका महासमिति सदस्य सापकोटा द्वारा पार्टी परित्याग, रास्वपामा नयाँ यात्रा सुरु गर्ने घोषणा

गैंडाकोट, श्रावण २३ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय गैंडाकोटका गोकुल सापकोटाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नयाँ यात्रा सुरु गर्ने घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक स्टाटस लेख्दै अब नेपाली कांग्रेसको कुनै पनि पदमा नरहेको जानकारी गराएका हुन्।

उनले लेखेका छन्, “नेविसंघबाट सुरु भएको मेरो राजनीतिक यात्रा, नेपाली कांग्रेसको महासमिति सदस्यसम्मको यात्रामा देशका विभिन्न आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्ने सौभाग्य मिल्यो। लोकतन्त्रको रक्षा, मानव अधिकारको स्थायित्व र सामाजिक रूपान्तरणका संघर्षहरूमा तपाईंहरूसँग काँधमा काँध मिलाएर हिँडेको त्यो यात्रालाई म आज गर्वका साथ स्मरण गर्दछु।”

राजनीतिक यात्राका क्रममा साथ, प्रेरणा र समर्थन दिने सबै अग्रज, मित्र, शुभेच्छुक र संगठनका साथीहरूलाई धन्यवाद दिंदै उनले रास्वपाबाट नयाँ सोच र राष्ट्र निर्माणको नवयात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

“समस्याले गिज्याएको देशलाई समाधानको बाटोमा लैजान, निराश राजनीति भन्दा आशाको राजनीति स्थापित गर्न, म रास्वपाको नीति, दृष्टिकोण र संस्कारसँग जोडिएको छु,” भन्दै उनले भविष्यमा समेत साथ, सुझाव र समिक्षाको अपेक्षा राखेका छन्।

उनको यो घोषणालाई नेपाली कांग्रेसभित्रको असन्तुष्टि र नयाँ राजनीतिक शक्ति प्रतिको आकर्षणको सन्दर्भमा पनि हेरिएको छ।
उनले अन्त्यमा लेखेका छन् “राजनीति बदल्न सकिँदोरहेछ, यदि नीयत र दृष्टिकोण सहि छ भने।”

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको