गैंडाकोट, भाद्र ५ । नेपाली कांग्रेस गैंडाकोट नगर कार्यसमितिको आयोजनामा नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम बीपी स्मृति भवन गैंडाकोटमा सम्पन्न भएको छ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले तीजलाई महिलाको अधिकार र पहिचान मुखरित गर्ने पर्वका रूपमा लिनुपर्ने बताउँदै तीज केवल रमाइलो र संस्कारमा सीमित हुने पर्व नभई यो महिलाले आफ्नो अधिकार, समानता र सशक्तिकरणको आवाज उठाउने अवसर पनि हो। महिलाको शिक्षा आर्थिक सबलीकरण र राजनीतिक सहभागिता बढाउनु अहिलेको आवश्यकता रहेको बताउँदै लोकतान्त्रिक मूल्य र विचारलाई मजबुत बनाउन नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको र महिलाको संख्यात्मक मात्र होइन, गुणात्मक सहभागिता बढाउन पार्टी प्रतिबद्ध रहेको पनि पन्तलेबप्रस्ट पारिन्।
कार्यक्रममा विशेष अतिथिका रुपमा नेका जिल्ला सभापति महेन्द्र ध्वज जिसी, पूर्व सांसद ओमकला गौतम, गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, उपमेयर शान्ति कोइरालालगायतका अतिथिहरू रहेका थिए। नगर उपसभापति रोशन भक्त अधिकारीले स्वागत मन्तव्य राखेको शुभकामना आदानप्रदान कार्यक्रम नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा र नगर सचिव गोविन्द घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो।








