गैंडाकोट, भाद्र १० । गण्डकी प्रदेश र बागमती प्रदेशको सीमामा पर्ने नारायणी पुल नजिकैको महेन्द्र राजमार्ग अहिले सडक भन्दा पनि प्रदर्शन स्थल जस्तो देखिन्छ। करिब ५०० मिटर लामो सडक खण्ड खाल्डा,खुल्डी, धुलो, हिलो र धुवाँले बिग्रिएको छ। तर, त्यसकै छेउछाउमा सरकारीदेखि निजी कार्यालयका होर्डिङ बोर्डहरूको रंगीन प्रदर्शन भने धमाधम चलेको छ।
सडक यात्रुहरू हरेक दिन जोखिम मोलेर गुडिरहेका छन्, तर सम्बन्धित निकायका लागि सडकभन्दा पनि बोर्ड राख्ने होड बढी महत्त्वपूर्ण देखिएको छ । यात्रुले खाल्डा छल्न सकुन् या न सकुन्, बोर्डहरू भने छाडा प्रतिस्पर्धामा छन्।
प्रदेश प्रवेशद्वार मानिने ठाउँलाई स्वागत-तोरण होइन, खतरनाक सडक र कुरूप बोर्डहरूले चिनाउने काम गरिरहेका छन्। जिम्मेवार निकायको लापरबाहीका कारण यो राजमार्ग अहिले ‘जीवन जोखिम’ र ‘शहरको कुरूपता’ दुवैको प्रतीक बनेको छ।








