गैंडाकोट, भाद्र १३ । गैंडाकोट नगरपालिकाले महेन्द्र राजमार्ग आसपासका क्षेत्र लगायतमा अनधिकृत रूपमा ढेला मार्फत सडक मिच्दै व्यवसाय गर्नेहरूमाथि कारबाही गरेको छ।
नगर प्रहरीको टोलीले शुक्रबार सडक छेउछाउमा रहेका ठेला र ठेलामा भएका सामग्रीहरू समेत जफत गरी नगरपालिका परिसरमा लगेका छन्। नगरपालिकाले यस कदमलाई सडकपेटीमा हुने अव्यवस्थित व्यापार नियन्त्रण गर्ने प्रयासका रूपमा लिएको बताएको छ।
नगरपालिकाकाले सडक पेटीमा अव्यवस्थित रूपमा व्यापार गर्दा पैदलयात्रीलाई असुविधा हुने, सवारी दुर्घटनाको सम्भावना बढ्ने र नगरको सौन्दर्यमा नकारात्मक असर पर्ने बताएको छ । त्यसैले पूर्वसूचना दिइसकेपछि पनि नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गर्नुपरेको नगरपालिकाले जनाएको छ।
यसैबीच, प्रभावित ठेला-वालाहरूले भने वैकल्पिक स्थानको व्यवस्था नगरी आफूहरूको जीविकोपार्जनमै धक्का लागेको गुनासो गरेका छन्। उनीहरूले नगरपालिकासँग वार्तामार्फत वैकल्पिक समाधान खोज्न आग्रह गरेका छन्। नगरपालिकाले आगामी दिनमा सडकपेटीलाई व्यवस्थित गर्ने, पैदलयात्रीको सहज आवागमन सुनिश्चित गर्ने र सडक छेउछाउ सफा राख्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।







