देवचुलीमा कन्टेनर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

नवलपुर, भदौ १८ । नवलपुरको देवचुली नगरपालिका-१५, लोकहा नजिकै पूर्व-पश्चिम राजमार्गमा मंगलबार राति कन्टेनर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

 

मंगलबार राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश २-०३००१ ख ४०५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।

 

दुर्घटनामा कन्टेनर चालक पश्चिम सुस्ता गाउँपालिका-१, नवलपरासी पश्चिम निवासी ३०/३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा भदौ १८ गते बिहान १:१५ बजे पुरानो मेडिकल कलेज, भरतपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

सोही कन्टेनरका सह-चालक चितवनको राप्ती नगरपालिका-७ निवासी ३६ वर्षीय राम बहादुर सार्की टाउकोमा चोट लागेर मध्यम घाइते भएका छन्। उनीलाई उपचारका लागि एलाइभ अस्पताल, भरतपुरमा भर्ना गरिएको छ।

 

त्यसैगरी ट्रक चालक महोत्तरी बर्दिवास नगरपालिका-११ निवासी ३० वर्षीय बिच बहादुर थिङ पनि शरीरका विभिन्न भागमा चोट लागेर मध्यम घाइते भएका छन्। उनलाई समेत एलाइभ अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय, रजहरबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको