देवचुलीमा रेडक्रस स्थापना दिवसमा मानवीय सेवा

गैंडाकोट, भदौ १९ । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखा, देवचुली-१५, नवलपुरले देवचुली नगर अस्पतालमा बिरामी भेटघाट तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी नवलपुरका जिल्ला सभापति दिल्लीराम करडियाले रेडक्रस केवल विपद्मा मात्र नभई मानवीय सेवाका हरेक पक्षमा सक्रिय संस्थाको रुपमा स्थापित भएको बताउँदै निरन्तर समाजसेवामा जुट्न सबैलाई आह्वान गरे। उनले भने, “रेडकसको लक्ष्य भनेको मानवता, निष्पक्षता र सेवाको भावनासहित समाजमा योगदान पुर्‍याउनु हो। यस प्रकारका कार्यक्रममा सहभागिता जनाउनु आफैंमा प्रेरणादायी छ।”

 

विशेष अतिथिका रूपमा रेडक्रस सोसाइटी उपशाखा प्रगतिनगरका संस्थापक सभापति शशिधर रेग्मी, देवचुली नगरपालिका-१३ का वडाध्यक्ष एकदेव पौडेल, डा. रश्मी सापकोटा, सोम सुवेदी, अमिशा पुन, युवराज गुरौं, शिशिर कोइराला, प्रियङ्का सुनारीलगायतको उपस्थिति रहेको थियो।

 

प्रगतिनगर उपशाखाका सभापति देवेन्द्र प्रसाद शर्माले को अध्यक्षतामा कार्यक्रम भएको थियो। अध्यक्षको मन्तव्य राख्दै शर्माले रेडक्रस स्थापना दिवसको सन्देश मानवताको सेवामा समर्पित हुने संकल्पका साथ समाजमा पुग्नुपर्ने बताए। उनले भने, “हामीले बिरामीलाई भेटेर दिएको सानो सहयोगले पनि ठूलो आत्मबल मिल्छ। रेडक्रसको स्थापना दिवसलाई सेवा र सहयोगमार्फत् स्मरण गर्नु नै यसको वास्तविक सम्मान भएको बताए । कार्यक्रमको समापनमा बिरामीलाई फलफुल वितरण गर्दै स्वस्थ जीवनका लागि सन्देश समेत दिइएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको