गैंडाकोटमा रोपाई जात्रा पुरस्कार वितरण र लाखे नाच समापन समारोह सम्पन्न

गैंडाकोट, भाद्र २२ । नेवा: पुच गैडाकोटले आयोजना गरेको रोपाई जात्रा-२०८२ को पुरस्कार वितरण कार्यक्रम तथा लाखे नाच समापन समारोह आइतबार गैंडाकोट-२ स्थित नारायणी नवदुर्गा भवानी मन्दिर परिसरमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट वडा नं २ का वडाध्यक्ष प्रकाश सापकोटाले जात्रा तथा परम्परागत नाचगानले सामाजिक ऐक्यबद्धता र संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलेको भन्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने “हाम्रो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई जोगाएर राख्नु नै भविष्यका पुस्तालाई दिएको सबैभन्दा ठूलो सम्पत्ति हो।”

समारोहमा रोपाई जात्रासहित विभिन्न शीर्षकका जात्राहरूमा उत्कृष्ट प्रदर्शन गर्ने गुठीलाई पुरस्कार वितरण गरिएको थियो। साथै, गैंडाकोट नगरपालिकाभित्र रहेका १४ वटा गुठीले लाखे नाच सम्बन्धी प्रहशन प्रस्तुत गरी समापन समारोहलाई अझ आकर्षक बनाएका थिए।

कार्यक्रममा अतिथिका रूपमा उत्तम कुमार प्रधान, ज्ञानुप्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, मनोज श्रेष्ठ, रामकुमार श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, सुरज प्रधान र कृष्णमान श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति तथा नेवा: पुच गैडाकोटका अध्यक्ष रेशमकुमार श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भने, “नेवा: समुदायको मौलिकता र गुठी परम्परालाई निरन्तर जोगाउने हाम्रो अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ। जात्रा, नाचगान र संस्कृतिको जगेर्ना गर्दा मात्र हाम्रो पहिचान बलियो हुन्छ।”

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सदस्य कमला श्रेष्ठले राखेकी थिइन् भने आर्थिक व्यवस्थापन समिति संयोजक उत्तम कुमार प्रधानले कार्यक्रमका विषयमा जानकारी गराएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको