आन्दोलनप्रति समर्थन, आगजनी घटनाप्रति आपत्ति जनाउँदै गैडाकोट माओवादी केन्द्रको विज्ञप्ति

गैंडाकोट, भाद्र २७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गैंडाकोट नगर समितिले जेन जि पुस्ताले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाएको छ भने सोही क्रममा नगर क्षेत्रका विभिन्न सरकारी तथा दलिय कार्यालयमा गरिएको आगजनी घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

 

शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा पार्टीले भ्रष्ट्राचारविरुद्ध जेन जि पुस्ताले उठाएको मुद्दा ऐतिहासिक भएको उल्लेख गर्दै आन्दोलनलाई सफलतापूर्वक अगाडि बढाउन सिंगो समाज प्रतिबद्ध हुनुपर्नेमा जोड दिएको छ। तर आन्दोलनकै क्रममा भदौ २४ गते भएको आगजनी घटनाले गम्भीर चिंता उत्पन्न गराएको माओवादी केन्द्र गैंडाकोट नगर समितिको भनाइ छ।

 

आगजनीमा नेकपा (माओवादी केन्द्र) गैंडाकोट नगर समितिको कार्यालय, नेपाली कांग्रेस र एमालेसहितका अन्य दलका कार्यालय, गैंडाकोट नगरपालिकाको कार्यालय, नगरप्रमुख र उपप्रमुखको निजी निवास, विभिन्न वडाका कार्यालय, गण्डकी प्रदेश सरकारको कार्यालय, राष्ट्रिय जनमोर्चा, समाजवादी दल र विवेकशील साझा पार्टीका कार्यालयमा क्षति पुगेको उल्लेख छ। विज्ञप्तिमा यस्तो गतिविधि योजनाबद्ध, आपराधिक तथा लोकतान्त्रिक आन्दोलनको भावनाविपरीत रहेको भन्दै दोषीलाई तत्काल कारबाहीको माग गरिएको छ।

 

माओवादी केन्द्र गैंडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारी र सचिव कृष्ण सागर भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “नेकपा (माओवादी केन्द्र) नेपाली समाज रूपान्तरणको पक्षमा अडिग छ र आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न जनताको पक्षमा दृढतापूर्वक उभिन्छ। भ्रष्ट्राचारविरुद्धको लडाइँमा हाम्रो समर्थन निरन्तर रहन्छ।”

 

यस्तै, विज्ञप्तिमा जनताको आन्दोलनलाई भड्काउने वा बदनाम गर्ने षड्यन्त्रप्रति सतर्क रहन सबैलाई आग्रह गरिएको छ। साथै, संविधान र लोकतान्त्रिक प्रक्रियाबाट पुरानो प्रणाली फाल्न सकिने र नयाँ प्रणाली निर्माण गर्ने अभियानलाई निरन्तर अघि बढाइने पार्टीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको