गैंडाकोट, भाद्र ३० । हालै सम्पन्न Gen Z आन्दोलनका क्रममा गैंडाकोटमा भएको तोडफोड र आगजनी घटनासम्बन्धी विवादमा रास्वपा गैंडाकोट नगर सभापति बिमल घिमिरेले सामाजिक सञ्जालमार्फत सनसनीपूर्ण प्रष्टिकरण दिएका छन्।
भाद्र २३ र २४ गते भएको आन्दोलनमा गैंडाकोट नगरपालिकाको कार्यालयदेखि वडा कार्यालय, नगर प्रमुख,उपप्रमुखको घर, विभिन्न राजनीतिक दलका कार्यलय तथा नेताहरुका निजी सम्पत्तिमा व्यापक तोडफोड भएको घटनामा घिमिरेको नाम जोडिएको थियो। विशेष गरी नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीको क्रममा घिमिरे पनि संलग्न भएको देखिने भिडियो सार्वजनिक भएपछि उनी चर्चाको केन्द्रमा आएका हुन्।
फेसबुकमा स्टाटस लेख्दै घिमिरेले भनेका छन् -“म पार्टी सभापतिको हैसियतले अरु दलको कार्यालयमा पुगेर नारा लगाउनु गल्ती थियो, त्यसमा म कमजोरी स्वीकार्छु। तर, कांग्रेस पार्टी कार्यालयमा म तोडफोड वा आगजनी सुरु भइसकेपछि मात्र पुगेको हुँ। मेरो कुनै संलग्नता छैन।”
उनले आफू तोडफोड वा आगजनीमा प्रत्यक्ष वा परोक्ष संलग्न नभएको दाबी गर्दै, आवश्यक भए प्रहरी प्रशासन वा सम्बन्धित निकायमार्फत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
यति मात्र होइन, घिमिरेले आफ्नै पार्टीप्रति पनि कठोर माग राख्दै भनेका छन् “यदि मेरो संलग्नता प्रमाणित भएमा मलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अनुरोध गर्दछु। साथै, छानबिनको निष्कर्ष आउन्जेलसम्म मलाई तत्काल प्रभावबाट निलम्बन गर्न आग्रह गर्दछु।”

यसैबीच, उनले आफूमाथि भइरहेको चरित्रहत्या प्रयासप्रति आक्रोश प्रकट गर्दै “बिभिन्न टिकाटिप्पणी गरेर होइन, प्रहरी प्रशासनमा गएर उजुरी गर्न” सबै पक्षलाई चुनौतीसमेत दिएका छन्।
गैंडाकोटमा भएको Gen Z आन्दोलनले उत्पन्न गरेको अशान्ति र राजनीतिक ध्रुवीकरणकै बीचमा रास्वपाका नगर सभापतिको यस्तो कडा प्रष्टिकरणले स्थानीय राजनीति अझै चर्किने संकेत गरेको विश्लेषकहरूको टिप्पणी छ।







