गैंडाकोट, असोज ८ । बदलिँदो राजनीतिक अवस्थाप्रति रणनीतिको खाँचो औंल्याउँदै नेपाली कांग्रेस नगरकार्य समिति गैंडाकोटले आज नगरकार्य समितिको बैठकसँगै वृहत भेला सम्पन्न गरेको छ।
नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सभापति महेन्द्र ध्वज जिसी, महासमिति सदस्य ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, विष्णुकुमारी कँडेल, गण्डकी प्रदेश कार्यसमिति सदस्य द्रोणवन सन्यासी, जिल्ला सहसचिव राजेश पौडेल, क्षेत्रीय सभापति अमृत भट्टचन, राजनैतिक विश्लेषक मनोहर पराजूलीलगायत नेताको उल्लेख्य सहभागिता रहेको थियो।
भेलामा नेताहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै सबै उमेर समूह, वर्ग, लिङ्ग र जातिको साझा आकर्षण बन्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए। उनीहरूले कांग्रेसलाई सबै नागरिकको “लोभलाग्दो पार्टी” बनाउन उदघोष समेत गरे।
कार्यक्रममा सहभागी अधिकांश कार्यकर्ताले अर्लि महाधिवेशनको माग गर्दै नयाँ सोच, नयाँ विचार र नयाँ नेतृत्वमार्फत चुनावी यात्रामा जानुपर्ने धारणा राखे। साथै, Gen Z आन्दोलनको नाममा तोडफोड र आगजनी गर्ने दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने आवाज पनि उच्च स्वरमा उठेको थियो। उक्त वृहत भेलाको सहजीकरण नगर सचिव गोविन्द घिमिरेले गरेका थिए।







