जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

गैंडाकोट, असोज ५ । ४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा नवलपुर शान्ति समाजले गैंडाकोटमा विभिन्न मागहरूसहित प्रदर्शन गर्दै दिवस मनाएको छ।

 

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका असरबाट प्रभावित विपन्न समुदायलाई न्याय दिनुपर्ने र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्।

दिवसका अवसरमा आयोजित कार्यक्रममा ‘जलवायु परिवर्तनका कारण सबैभन्दा मारमा परेका विपन्न तथा वञ्चित समुदाय र राष्ट्रलाई न्याय एवं संरक्षण गर’, ‘सङ्घ, प्रदेश र स्थानीय तहमा जलवायु बजेटको प्रभावकारितासहित समन्वय गर’ तथा ‘सद्भाव प्रवर्धनका लागि सहकार्य गरौँ, सद्भाव बिथोल्नेहरूलाई दण्डित गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नवलपुर शान्ति समाजका सभापति कमल शर्माले जलवायु परिवर्तन र सामाजिक ध्रुवीकरण अहिलेका मुख्य चुनौती रहेको बताए। “आजको मुख्य शान्ति भनेको जलवायु न्याय र सामाजिक सद्भाव हो,” सभापति शर्माले भने, “जलवायु परिवर्तनका कारण गरिब र सीमान्तकृत समुदाय सबैभन्दा बढी मारमा परेका छन्। तिनलाई जोगाउनु राज्यको दायित्व हो। साथै, समाजमा वैमनस्यता र जातीय/धार्मिक अशान्ति फैलाउने तत्त्वहरूलाई कडा दण्ड दिँदै तीनै तहका सरकारले बजेट र नीतिमा उचित समन्वय गर्न आवश्यक छ।”

उक्त कार्यक्रममा नवलपुर शान्ति समाजका पूर्व केन्द्रीय सदस्य एवं जिल्ला सभापति श्यामसुन्दर पराजुली, पूर्व जिल्ला सभापति सुरेन्द्र राज अधिकारी, समाजसेवी वेदप्रसाद गौडेल लगायत समाजका अन्य पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले समाजमा दिगो शान्ति स्थापनाका लागि नागरिक स्तरबाट पनि पहल हुनुपर्ने धारणा राखेका थिए।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको