सिद्धिविनायक महिला समूहको साधारण सभा: ‘गैंडाकोटको कान्छो समूह, काममा सबैभन्दा अघि’

गैंडाकोट,असोज ५। श्री सिद्धिविनायक महिला समूह गैंडाकोट–४ को चौथो साधारण सभा तथा दोस्रो अधिवेशन श्री गणेश पञ्चायन मन्दिर परिसरमा सोमबार भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले मातृशक्तिलाई धर्तीलाई चलायमान बनाउने मुख्य ऊर्जाको रूपमा चित्रण गर्नुभयो। वडाभित्र रहेका १८ वटा महिला समूहहरूमध्ये सिद्धिविनायक समूह उमेरका हिसाबले सबैभन्दा कान्छो भए तापनि यसको कार्यसम्पादन र प्रभावकारिता ठूला र पुराना संस्थाहरूको भन्दा उत्कृष्ट रहेको उहाँले बताउनुभयो। आगामी दिनहरूमा पनि समूहले अझै जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा वडा अध्यक्ष घिमिरेले व्यक्त गर्नुभयो।

समारोहमा गैंडाकोट नमुना माध्यमिक विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने, वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ता धर्ती, गणेश पञ्चायन मन्दिरकी अध्यक्ष राधिका कँडेल भट्टराई, झपर्दी नमुना टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर धर्ती, समूहका सल्लाहकार दुर्गाप्रसाद गौतम, समाजसेवी जयलाल पराजुली र समूहकी सदस्य टुका चालिसे लगायतका अतिथिहरूले समूहको प्रगतिको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाको बन्द सत्रमा समूहकी कार्यवाहक सचिव विमला अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

समूहकी अध्यक्ष सरिता आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पार्वती पोख्रेलले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण समूहकी सदस्य कल्पना भण्डारीले गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको