गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा गम्भीर क्षति

गैँडाकोट, असोज ५ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ मा रहेको निजी विद्यालय गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटपिटबाट कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन्।

अभिभावकका अनुसार कपाल नकाटेको निहुँमा आइतबार पठनपाठन भइरहेका बेला शिक्षकले विद्यार्थीलाई अफिस कोठामा लगेर कुटपिट गरेका थिए। पीडित विद्यार्थीकी सानिमा नन्दिता थापा मगरका अनुसार कुटपिटबाट विद्यार्थीको बायाँ कान र दायाँ आँखामा गम्भीर चोट लागेको छ।

“आइतबार विद्यालयमा बाबुले कपाल काटेन भनेर सरहरूले अफिस कोठामा लगेर कुटपिट गर्नुभएछ,” थापा मगरले भन्नुभयो, “शिक्षकको कुटाइबाट बाबुको बायाँ कानको जाली ८० प्रतिशत ड्यामेज भएको अस्पतालको रिपोर्टमा देखिएको छ, दायाँ आँखाको मुनिपट्टि पनि निलडाम बसेको छ।”

घटनालगत्तै आइतबार नै विद्यार्थीलाई चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो। त्यहाँ कान र आँखामा समस्या देखिएपछि सोमबार पुनः भरतपुरकै नेसनल सिटी अस्पतालमा परीक्षण गराउँदा पनि उस्तै रिपोर्ट आएको परिवारले जनाएको छ। पीडित विद्यार्थीका आमाबाबु हाल वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका छन्। “पढ्न विद्यालय जाने विद्यार्थी विद्यालयमा पनि सुरक्षित हुने वातावरण भएन,” अभिभावकले गुनासो गर्नुभयो।

यसैबीच, घटनाको जिम्मेवारी लिँदै विद्यालयका प्राचार्य हीरालाल अर्यालले कुटपिटमा संलग्न शिक्षकलाई निष्कासन गरिने र घाइते विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले नै व्यहोर्ने बताउनुभएको छ।

“घटनाभए लगत्तै हामीले अभिभावकसँग सहमति गरेका छौँ,” प्राचार्य अर्यालले भन्नुभयो, “विद्यार्थी कुट्ने शिक्षक डोलराज थापालाई निष्कासनको पत्र तयार पारिएको छ र आजै दिएर पठाइनेछ। साथै घाइते विद्यार्थीको उपचारको सबै खर्च विद्यालयले व्यहोर्नेछ।”

विद्यालयमा बालमैत्री वातावरण कायम राख्न हरेक बैठकमा शिक्षकहरूलाई सचेत गराउँदै आइएको र विद्यार्थीविरुद्ध हुने कुनै पनि प्रकारका हिंसामा विद्यालयको शून्य सहनशीलताको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो।

(समाचार र स्रोत-लोकसूचना.com)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको