नेपाली काँग्रेस गैंडाकोट नगर सभापतिमा खेमराज सापकोटा सर्वसम्मत चयन हुने निश्चित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आगामी १५औँ महाधिवेशनअन्तर्गत नगर सभापति पदमा खेमराज सापकोटा सर्वसम्मत उम्मेदवारका रूपमा अघि सारिएका छन्। विपी स्मृति भवन गैँडाकोट-५ मा आयोजित पत्रकार सम्मेलनमा वर्तमान नगर सभापति बद्री सापकोटाले सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेका हुन्।

नगर सभापति पदका अन्य आकांक्षी नगर सचिव गोविन्द घिमिरे र उपसभापति रोशनभक्त अधिकारीले समेत आफ्नो दाबी छोड्दै सापकोटालाई समर्थन गरेपछि बुधबार हुने नगर अधिवेशनबाट उनी नगर सभापति बन्ने पक्का भएको छ।

वर्तमान परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन र हराएका मत पुन: बटुल्न सबै नेता-कार्यकर्ता एकै ठाउँमा उभिनुपर्ने आवश्यकता महसुस गर्दै सर्वसम्मतिको बाटो रोजिएको वर्तमान सभापति बद्री सापकोटाले जानकारी दिए। “निर्वाचन प्रक्रियामार्फत भन्दा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर देशैभर सकारात्मक सन्देश दिन खोजेका हौँ,” उनले भने।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति यात्रा सुरु गरेका नेता सापकोटाले गैँडाकोटको सञ्चार, वित्तीय, शिक्षा, जनजागरण तथा सुशासनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनको अनुभवले गैँडाकोट काँग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास अन्य वक्ताहरूले व्यक्त गरेका छन्।

आफ्नो उम्मेदवारीबारे बोल्दै नगर सभापतिका सर्वसम्मत उम्मेदवार खेमराज सापकोटाले जिम्मेवारी स्वीकार गर्दै नेपाली काँग्रेसलाई नयाँ पुस्ताको पहिलो रोजाइ र आकर्षणको पार्टी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

यस्तै, नगर सचिव गोविन्द घिमिरेले राजनीतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न अग्रजहरूलाई आग्रह गर्दै पार्टी हितका लागि आफूले सापकोटालाई समर्थन गरेको स्पष्ट पारे।

कार्यक्रममा काँग्रेस नेताहरू हरिराज गौतम, गजेन्द्रबहादुर आले र विष्णुकुमारी कँडेलले गैँडाकोट नगर समितिले सर्वसम्मतिको प्रशंसनीय कदम चालेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको