गैंडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न

गैंडाकोट, कार्तिक २२ । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सर-सफाई उपभोक्ता संस्थाको १९औं वार्षिक साधारण सभा शनिबार गैंडाकोट-४ स्थित संस्थाकै सभाहलमा सम्पन्न भएको छ।

 

सभामा गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा संस्थाका सचिव केशवराज शर्माले सचिवीय प्रतिवेदन, कोषाध्यक्ष श्रीराम सुवेदीले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समिति संयोजक सुनिता लम्सालले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कृष्ण सापकोटाले प्रस्तुत गरेका थिए भने संस्थाका सचिव केशवराज शर्माले सभाको सहजीकरणगरेका थिए।

 

संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले संस्थाको १९ वर्षे यात्रामा उपभोक्ताको साथ र विश्वास नै संस्थाको मुख्य आधार रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा सेवा वितरणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले आधुनिक प्रणालीमार्फत पानी आपूर्तिको गुणस्तर र नियमितता सुधार गर्न, उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न र नयाँ प्रविधिक स्रोत परिचालनमा जोड दिने बताए।

 

प्रमुख अतिथि मेयर मदनभक्त अधिकारी ले गैंडाकोट नगरपालिकाले खानेपानी र सरसफाइलाई नगरको प्राथमिक क्षेत्रमा राखेको भन्दै यस संस्थाले स्थानीयस्तरमा देखाएको व्यवस्थापन र पारदर्शिताको प्रशंसा गर्दै उनले नगरपालिकाको तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्दै खानेपानी क्षेत्रलाई दीगो र वातावरणमैत्री बनाउने योजनामा नगर सरकार र संस्थाबीच सहकार्यको आवश्यकता औंल्याए।

 

कार्यक्रममा उपस्थित उपभोक्ता सदस्य, स्थानीय सरोकारवाला तथा अतिथिहरूले संस्थाको निरन्तर प्रगति र सेवा गुणस्तर सुधारका लागि शुभकामना व्यक्त गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको