दुर्गा प्रसाईं समूहलाई सरकारले भन्यो– राजनीतिक प्रकृतिका माग पूरा गर्न दल दर्ता गरेर निर्वाचनमा होमिनुस्

काठमाडौँ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानलाई राजनीतिक माग पूरा गराउन पार्टी दर्ता गरेर निर्वाचनमा होमिन सुझाएको छ ।

महाअभियानले बुधबार गृह मन्त्रालयमा पुगेर सरकारसमक्ष विभिन्न २७ बुँदे माग पेस गरेको थियो ।

ती मागका सन्दर्भमा जवाफ दिँदै गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल र मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेसहितका अधिकारीले राजनीतिक प्रकृतिका माग पूरा गर्न पार्टी दर्ता गरेर आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन सुझाएका हुन् ।

मन्त्रालयका प्रवक्ता सहसचिव काफ्लेले राजनीतिक प्रकृतिका माग पूरा गर्न पार्टी दर्ता गरेर निर्वाचनमा होमिन सुझाइएको जानकारी दिए । शान्ति प्रक्रिया र सुशासनका सन्दर्भमा राखिएका माग पूरा गर्न सरकार सकारात्मक रहेको महाअभियानका प्रतिनिधिहरूलाई बताइएको काफ्लेले जानकारी दिए ।

‘राजनीतिक प्रकृतिका माग पूरा गर्न पार्टी दर्ता गरेर फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा होमिन भन्यौँ,’ काफ्लेले महाअभियानसँग भएको छलफलबारे रातोपाटीसँग भने, ‘शान्ति सुरक्षा र सुशासनका सन्दर्भका माग पूरा गर्न सरकार सकारात्मक रहेको बताएका छौँ ।’

महाअभियानले हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लगायतका राजनीतिक माग राखेपछि यी माग पूरा गर्न पार्टी दर्ता गरेर निर्वाचनमा होमिन गृह मन्त्रालयका अधिकारीहरूले सुझाएका हुन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको