गैंडाकोट, मंसिर १३ । मौलाकालिका सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट १ र २ को २३औँ वार्षिक साधारण सभा शनिबार गैंडाकोटमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी तथा विशेष अतिथि वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी र वडा नं. २ का अध्यक्ष प्रकाश सापकोटा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ता सदस्यको उल्लेख्य सहभागिता रहेको थियो। सभाको अवसरमा समूहले स्वावलम्बन र कृषि प्रोत्साहनका उद्देश्यले उपस्थित सदस्यहरूलाई मौसमी तरकारीका बिउ तथा बीउविजन वितरण गरेको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले सामुदायिक वनहरूले पछिल्ला वर्षमा निभाइरहेको भूमिकाको प्रशंसा गरे। उनले वन संरक्षण, टिकाउ वन व्यवस्थापन, जलवायु संकट न्यूनीकरण, स्थानीय आय-आर्जन तथा सीप विकासजस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन समूहलाई आग्रह गरे। “सामुदायिक वन देशभरका स्थानीय विकासका प्रमुख आधार बनेका छन्। सदस्यमुखी कार्यक्रम, वन पैदावारको सदुपयोग, दिगो वन व्यवस्थापन र गरिबी न्यूनीकरणमा अझै प्रभावकारी परिणाम दिन सकिने छ” मेयर अधिकारीले भने।
सभामा आर्थिक वर्ष ०८१/०८२ को कार्य-प्रगति प्रतिवेदन तथा ०८२/०८३ का नीति तथा कार्यक्रम सचिव इन्दिरा शर्माले प्रस्तुत गरिन्। सोही वर्षको आय-व्यय विवरण र प्रस्तावित आम्दानी–खर्च प्रतिवेदन कोषाध्यक्ष धना पौडेलले प्रस्तुत गरिन्। आन्तरिक लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नारायण सुवेदीले समितिको मूल्यांकन, देखिएका सवाल-जवाफ तथा सुधार सुझावहरू समेटिएको प्रतिवेदन सभामा प्रस्तुत गरे।
समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले गण्डकी प्रदेश वन ऐन २०८० र नियमावलीअनुसार समुहले सञ्चालन गरिरहेको गतिविधि तथा भविष्यका योजनाबारे जानकारी दिए।
उनले भने “हाम्रो प्राथमिकता दिगो वन व्यवस्थापन, वातावरण संरक्षण, जलवायु असर न्यूनिकरण, महिला सशक्तिकरण, जीविकोपार्जन प्रवर्द्धन र शैक्षिक क्षेत्रलाई सहयोग पुर्याउने कार्यक्रमहरूलाई निरन्तरता दिनु हो। सदस्यमैत्री तथा परिणाममुखी लक्ष्यसहित हामी अघि बढिरहेका छौँ।”
कार्यक्रमलाई समूहका उपाध्यक्ष भगवान घिमिरेले स्वागत सम्बोधन गरे भने सचिव इन्दिरा शर्माले सभाको सहजीकरण गरेकी थिइन् ।








