अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मौलाकालिका अपाङ्ग आश्रमका सेवाग्राहीलाई न्यानो कार्यक्रम

गैंडाकोट, मङ्सिर १७ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज नवलपुर शाखाले मौलाकालिका अपाङ्ग सेवा संस्था, कावासोतीमा रहेका फरक क्षमता भएका व्यक्तिहरूबीच न्यानो वितरण कार्यक्रम सम्पन्न गरेको छ। समाजले आश्रममा आश्रय लिई बसेका २१ जना सेवाग्राहीलाई न्यानो जुत्ता र कपडा प्रदान गरेको हो ।

 

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सचिव एवं जिल्लाका पूर्व सभापति श्यामसुन्दर लामिछानेले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको महत्वमाथि प्रकाश पार्दै समाजले अपाङ्गता भएका व्यक्तिहरूका विषयमा दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, अपाङ्गता शरीरमा हुन सक्छ तर सोच, क्षमता र आत्मबलमा कुनै कमी हुँदैन। फरक क्षमता भएका व्यक्तिहरूमा असाधारण सीप र दृढता हुन्छ। उनीहरूको क्षमताको कदर गर्दै अवसर, पहुँच र सम्मानजनक जीवन सुनिश्चित गर्नु नै दिवसको मूल मर्म भएको बताउँदै उनले संघ संस्थाहरूबीच समन्वय र सहकार्य बढाउन सके दिगो सामाजिक योगदान गर्न सकिने विश्वास व्यक्त गरे।

 

कार्यक्रमका अध्यक्ष एवं जिल्ला सभापति कमल शर्माले न्यानो कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्गता भएका व्यक्तिहरू राज्य, समाज र परिवारको समान ध्यान र सम्मानका पात्र भएको उल्लेख गर्दै उनले भने, फरक क्षमता भएका व्यक्तिहरू हाम्रो प्रेरणाका स्रोत हुन्। उनीहरूलाई आत्म-सम्मानका साथ जीवन यापन गर्न सक्ने वातावरण बनाउनु सबैको दायित्व हो, मानवअधिकार तथा शान्ति समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ,शर्माले आगामी दिनमा सेवा, प्रवद्र्धन र संरक्षणका कार्यक्रमलाई अझ व्यापक बनाइने जानकारी पनि गराए।

 

कार्यक्रममा गङ्गा थापा, दया प्रसाद रेग्मी, बद्री नेपाल, विष्णु श्रेष्ठ, रेशम बहादुर मल्ल, सुरेन्द्र गुरागाई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा राजनीतिज्ञ हरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको