गैंडाकोट, कार्तिक ७ । गुल्मी अर्घाखाँची सम्पर्क समाज, गैंडाकोटको आयोजनामा आगामी कार्तिक ८ गते आइतबार (पूर्णिमाका दिन) गैंडाकोटमा परम्परागत ‘सरायनाच’ आयोजना हुने भएको छ।
विजयादशमी २०८३ को पावन अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा देवी दुर्गाले महिषासुर राक्षसमाथि विजय हासिल गरेको खुसियालीमा विशेष गरी गुल्मी र अर्घाखाँची लगायतका जिल्लाहरूमा प्रस्तुत गरिने ऐतिहासिक सरायनाच प्रदर्शन गरिनेछ।
आफ्नो धर्म, संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको हस्तान्तरण (पुस्तान्तरण) गर्ने मुख्य उद्देश्यका साथ यो नौलो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजक संस्था गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटका अध्यक्ष गोविन्द घिमिरेका अनुसार कार्यक्रम गैंडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालयको प्राङ्गण (कांग्रेसचोक) मा दिउँसो १:०० बजे सुरु हुनेछ।
संस्थाका अध्यक्ष घिमिरेले गैंडाकोट तथा यस आसपासका क्षेत्रमा बसोवास गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुका साथै यो मौलिक एवं नौलो सांस्कृतिक अनुभव लिन हार्दिक अपिल गर्नुभएको छ।







