सञ्चारकर्मी सुशील आदर्शको‘लाइफ ड्यामेज’को ‘ब्युटिफूलम’ गीत सार्वजनिक

काठमाडौं, ११ वैशाख । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र लाइफ ड्यामेजको ‘ब्युटिफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति तय गरिएको यस चलचित्रको गीत राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रिलिज गरिएको हो ।

सार्वजनिक गरिएको डान्सिङ नम्बर गीतमा नवलपुरका सञ्चारकर्मी आदर्श सुशीलको शब्द, एसडी योगीको संगीत तथा एसडी योगी र रेश्मा पुनको स्वर समावेश रहेको छ । गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका छन् । चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । निर्देशकका रूपमा डेब्यु गरेका निमेष श्रेष्ठले लाइफ ड्यामेज दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका छन् । कार्यक्रममा उनले चलचित्रले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने विश्वास व्यक्त गरे ।

 

 

अभिनेत्री सुरक्षा पन्तले चलचित्रको अवधारणा मन परेकाले आफू यसमा आबद्ध भएको बताइन् । चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मेवारी बटरफ्लाई फिल्म्सले लिएको छ ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।

केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा औपचारिक डेब्यु गरेका हुन् । गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको