गैँडाकोट, भाद्र २३ । गैँडाकोट रोटरी क्लब अफ गैँडाकोटले गैँडाकोट नगरपालिका-३ स्थित भुजेल गाउँका ३८ घरधुरीलाई धुवाँरहित सुधारिएको चुलो वितरण गरेको छ।
मङ्गलबार आयोजित कार्यक्रममा भुजेल गाउँका लक्षित ३८ घरधुरीलाई ३८ वटा धुवाँरहित सुधारिएको चुलो वितरण गरिएको हो। परम्परागत चुलोबाट निस्कने धुवाँका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्नुका साथै घरभित्रको वायु प्रदूषण कम गर्ने उद्देश्यले चुलो वितरण गरिएको क्लबले जनाएको छ।कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष रो. रामहरि श्रेष्ठले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आरआई डिस्ट्रिक्ट ३२९२ का क्लब असाइनमेन्ट असिस्टेन्ट गभर्नर (AG) भरत शर्मा पोखरेल तथा विशिष्ट अतिथिका रूपमा एडिसनल डिस्ट्रिक्ट सेक्रेटरी (रिजन VI) रोटरियन डा. प्रमोद पौडेल र महिला उद्यमी समूह गैँडाकोट-३ की अध्यक्ष शान्ति कुमारी भुजेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरत शर्मा पोखरेलले सुधारिएको चुलो वितरणले ग्रामीण तथा विपन्न परिवारको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बताए। उनले भने स्वच्छ र धुवाँरहित चुलोले घरभित्रको वायु प्रदूषण घटाउनुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउँछ। रोटरीले समुदायको आवश्यकता पहिचान गरी सञ्चालन गर्ने यस्ता सेवा परियोजनाले स्थानीयको जीवनस्तर सुधार्न सहयोग पुग्छ।
कार्यक्रममा रोटरी क्लब अफ गैँडाकोटका आइ.पि.पि. हिरालाल अर्याल, पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक तथा सर्विस प्रोजेक्ट चेयर रोटरियन रमेश काफ्ले, पूर्व अध्यक्ष श्रीनिवास पौडेल, निर्वाचित अध्यक्ष रोटरियन प्रकाश पौडेल, सचिव रोटरियन भूमिका तिमिल्सिना, सह-सचिव रोटरियन रामचन्द्र गौतम, कोषाध्यक्ष रोटरियन नवराज कँडेल तथा सार्जेन्ट–एट–आर्म्स रोटरियन तिलकराम पन्थी लगायतको विशेष उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा चुलो प्राप्त गर्ने परिवारहरूले धुवाँरहित सुधारिएको चुलोले खाना पकाउन सहज हुनुका साथै धुवाँबाट हुने स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। रोटरी क्लबले समुदायमा स्वास्थ्य, वातावरण तथा जीवनस्तर सुधारसँग सम्बन्धित विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।







