गैंडाकोट, भाद्र २५ । गैंडाकोट स्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर परिसरमा आउँदो भाद्र २७ गते शनिबार बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
विश्व रक्तदाता संगठन नवलपुर, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर र मौलाकाली केवलकारको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रमको प्रवर्धन भने गैंडाकोट नगरपालिकाले गर्नेछ। ‘मानवताका लागि रक्त अभियान’लाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै धार्मिक स्थललाई मानव सेवासँग जोड्ने पवित्र उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
विश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रममा सहभागी हुने सम्पूर्ण रक्तदाताहरूका लागि प्रोत्साहन स्वरूप निःशुल्क केवलकार टिकटको व्यवस्था गरिएको छ।
पुण्यको कामसँगै जीवन रक्षा जस्तो मानवीय सेवामा सहभागी हुन आयोजकले सम्पूर्ण इच्छुक तथा स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गर्न हार्दिक अपिल गरेको छ।







