मिति नतोकिँदै तात्यो नवलपुर कांग्रेसको अधिवेशन माहोल, सभापतिमा चार जनाको दाबेदारी

गैंडाकोट, कात्तिक २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर जिल्ला अधिवेशनको मिति तय भइनसके पनि नेतृत्व हत्याउन आकांक्षीहरूको दौडधुप तीव्र बनेको छ। अधिवेशनको कार्यतालिका सार्वजनिक नहुँदै सामाजिक सञ्जालमार्फत पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि जिल्लाको आन्तरिक राजनीति तातेको हो।

केन्द्रले वडा, क्षेत्र र केन्द्रीय तहका अधिवेशन सम्पन्न गरे पनि जिल्ला र प्रदेश अधिवेशन भने स्थगित गरेको थियो। नयाँ मिति नतोकिँदै नवलपुरमा विशेषगरी जिल्ला सभापति पदका लागि चार जना नेताले औपचारिक रूपमै दाबेदारी प्रस्तुत गरिसकेका छन्। जिल्ला पार्टी कार्यालयका सचिव गोपाल बस्ताकोटीका अनुसार वर्तमान जिल्ला उपसभापति चन्द्रबहादुर राना, महाधिवेशन प्रतिनिधि गजेन्द्रबहादुर आले, वर्तमान जिल्ला सचिव होमराज रानाभाट र निवर्तमान क्षेत्रीय सभापति अमृत भट्टचनले सामाजिक सञ्जालमार्फत सभापतिमा उम्मेदवारी सार्वजनिक गरेका हुन्।

को-को हुन् सभापतिका चार दाबेदार ?

चन्द्रबहादुर राना : लामो समय शैक्षिक क्षेत्रमा बिताएका राना मध्यविन्दु नगरपालिकाका पूर्वमेयर तथा वर्तमान जिल्ला उपसभापति हुन्। सांगठनिक अनुभवका आधारमा उनी नेतृत्वमा आउन खोजेका छन्।

 

अमृत भट्टचन : उद्योग वाणिज्य क्षेत्रबाट राजनीतिमा उदाएका निवर्तमान क्षेत्रीय सभापति भट्टचन जिल्लादेखि केन्द्रसम्म उद्योगी–व्यवसायीको हकहितका पक्षमा सक्रिय छन्। तल्लो तहसम्म भिजेका नेताका रूपमा उनले सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

 

गजेन्द्रबहादुर आले : साबिक नवलपरासी हुँदादेखि नै राजनीतिमा सक्रिय आले जिल्लाको पुरानो पुस्ताका नेता मानिन्छन्। २०३६ सालमा बीपी कोइराला नवलपरासी आउँदा उनको सुरक्षाको जिम्मेवारीसमेत सम्हालेका आले पदभन्दा सेवाभावलाई प्राथमिकता दिने नेताका रूपमा चिनिन्छन्।

 

होमराज रानाभाट : लामो समय नवलपरासी र नवलपुरमा पत्रकारिता गर्दै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहेका वर्तमान जिल्ला सचिव रानाभाटले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्।

 

उपसभापति र सचिवमा पनि आकांक्षीको लर्को

सभापतिसँगै अन्य पदाधिकारीमा पनि आकांक्षीहरूको संख्या बढ्दो छ। उपसभापति पदका लागि निवर्तमान क्षेत्रीय सभापति सूर्य गुरुङ, झविन्द्रश्वर भुसाल र सम्झना सापकोटाको नाम चर्चामा छ।

त्यस्तै, सचिव पदमा आधा दर्जनभन्दा बढी नेताहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन्। सचिवमा करुणासागर सुवेदी, राजेश पौडेल, खगराज सापकोटा, चेतन पौडेल, सालिकराम ढकाल र रामचन्द्र भट्टराईलगायतले दाबेदारी प्रस्तुत गरेका छन्।

अधिवेशनको मिति नजिकिँदै जाँदा आकांक्षीहरूको संख्या अझै थपिने देखिएको छ। यसका साथै, पार्टीले अघि सारेको ‘एक व्यक्ति, एक पद’ को अवधारणा नवलपुरमा कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयले पनि जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ। आकांक्षीहरूको बाक्लो उपस्थितिले आगामी जिल्ला अधिवेशन थप रोचक र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको