शिक्षा सचिव पौडेलद्वारा सार्वजनिक बिदाका दिन गैंडाकोटको जनक नमुना माविमा अनुगमन; शैक्षिक गुणस्तर र प्रविधिमैत्री शिक्षामा जोड

गैंडाकोट, कार्तिक २९ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले सार्वजनिक बिदाको दिन पारेर गैंडाकोट नगरपालिकास्थित जनक नमुना माध्यमिक विद्यालयको छड्के तथा स्थलगत निरीक्षण एवं अनुगमन गरेका छन् ।

 

 

अनुगमनका क्रममा शिक्षा सचिव पौडेलले विद्यालयको समग्र शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा विद्यालयले सञ्चालन गरेका नविनतम क्रियाकलापहरूको बारेमा विस्तृत जानकारी लिएका थिए । सो अवसरमा उनले शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन र आगामी दिनमा नविनतम प्रविधिसहितको शिक्षा प्रदान गर्न विद्यालयले अपनाउनुपर्ने भावी कार्यदिशा र रणनीतिका बारेमा महत्वपूर्ण सुझावसमेत दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले विद्यार्थीहरूको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले हालसम्म गरेका विभिन्न कार्यक्रम, भौतिक पूर्वाधारको विकास तथा समुदायस्तरमा सञ्चालित गतिविधिहरूको प्रगति विवरणबारे जानकारी गराउँदै भने, “हामी विद्यालयको शैक्षिक स्तर उकास्न र प्रविधिमैत्री सिकाइ सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध भएर लागिपरेका छौँ।” यसैगरी, विद्यालयका सहायक प्रधानाध्यापक राजनबाबु अधिकारीले विद्यालयको हालसम्मको शैक्षिक प्रगति र आगामी योजनाहरूबारे प्रकाश पार्दै भने, “हाम्रो विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।”

उक्त अनुगमन तथा निरीक्षण कार्यक्रममा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय हेटौँडाका प्रमुख बद्री पाठक, शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोख्रेल, शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख गोविन्द शर्मा, गैंडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्य, गैँडाकोट नगर शिक्षा समिति सदस्य दोलराज पाण्डे, शिक्षा तथा खेलकुद मन्त्रालयका निवृत्त सहसचिव कृष्णप्रसाद घिमिरे, मुकुन्दसेन इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेल, जनक नमुना माविका व्यवस्थापन समिति सदस्य दिपक ढुङ्गाना, १०+२ का संयोजक नारायण प्रसाद तिवारी, शिक्षकद्वय राजु पुरी र बलराम रानाभाट लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

गैँडाकोट नगरपालिकाकै जेठो तथा पुरानो शैक्षिक संस्थाको रूपमा परिचित जनक नमुना माध्यमिक विद्यालयमा हाल ४ वटा ब्लकबाट २,१४८ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने विद्यालयको एस.इ.इ. परीक्षाको उत्तीर्ण प्रतिशत ८८.३७ प्रतिशत रहेको छ।

विगत दुई दिनदेखि चितवन र नवलपुर क्षेत्रका विभिन्न शैक्षिक गतिविधि, विद्यालयको अनुगमन तथा निरीक्षणको सिलसिलामा रहनुभएका शिक्षा सचिव पौडेल शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि सक्रिय रूपमा क्रियाशील रहँदै आएका छन्। सार्वजनिक बिदाको दिनसमेत फुर्सद नमिलाएर सचिव पौडेलले गर्नुभएको यसप्रकारको अनुगमन तथा निरीक्षणलाई शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिहरूले अत्यन्तै सकारात्मक रूपमा लिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको