काठमाडौं, असोज २४ । मासु खान दशैं कुर्नै नपर्ने भए पनि दशैंलाई टन्न मासु खाने पर्वको रूपमा लिइन्छ। अहिले पनि दशैं भन्नेबित्तिकै घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ।
मासुका परिकार धेरै खाने प्रचलन रहेको दशैंमा कस्ता मानिसले कति मासु खाने भन्ने कुरा हेक्का नराख्दा खानपान (मासुका परिकार)ले स्वास्थ्यमा प्रतिकूल असर समेत गर्छ। त्यसैले दशैंमा विशेषतः मासुका परिकार खाँदा विशेष सावधानी अपनाउनु पर्छ। शरीरको तौल, उमेर र अन्य स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सन्तुलित तरिकाले मासुका परिकार खाने गर्दा स्वास्थ्यमा असर गर्दैन।
मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ। २५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्राम प्रोटिन हुन्छ। थप प्रोटिन अन्य खानाबाट पाइन्छ। जसले गर्दा एक जवान मानिसले एक दिनमा २५० ग्रामसम्म मासु खान राम्रो हुन्छ।
धेरै जनाले पर्व भनेर आवश्यकताभन्दा बढी मासुको परिकार खाने बानी छ। यो स्वास्थ्यका लागि एकदमै घातक हो। त्यसैले दशैंमा मासु खाँदा आफ्नो शरीरको तौलअनुसार खानु राम्रो हुन्छ।
यस्तै सकेसम्म सबैले बोसोरहित मासु खाएको राम्रो हुन्छ। अझै मधुमेह, उच्च रक्तचाप, मिर्गौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ।
यसका साथै अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ। सकेसम्म रातो मासुभन्दा सेतो मासु, माछा खाएको राम्रो हुन्छ।
सकेसम्म बेलुकीको समयमा मासु कम खाएको राम्रो हुन्छ।चिल्लो, पोलेको, भुटेको मासु कम खाने
धेरै भुटेका खानेकुरा खाँदा भुट्न प्रयोग गरिएको तेल, घ्यू धेरै बेर तताउँदा त्यसमा विषालु पदार्थ जम्छ, जसले मुटुलाई निकै हानि पुर्याउँछ।
अर्को कुरा दशैंमा पकाएको माछामासु धेरै दिनसम्म खानु पनि राम्रो हुँदैन। पकाएको मासु लामो समयसम्म राख्दा दूषित हुन्छ र हाम्रो शरीरलाई हानि गर्छ।
रक्तचाप र मधुमेह लगायतका स्वास्थ्य समस्याभएकाहरुले सकभर रातो मासु नखाएको राम्रो हुन्छ।