लघु कथा
उनको मानसिक अवस्था ठिक जस्तो थियो भेषभुषा हेर्दा। दुई दिनदेखि त्यतैतिर बाटोमा बसेकी थिइन् उनी । मैले झ्यालको पर्दा उगारेर हेरेँ । फ्याट्टफुट्ट यात्रीहरू बाटोमा ओहोर-दोहोर गरेका थिए । उनलाई कसैले हेरेका थिएनन् ।
झण्डैं सत्तरीको हाराहारी उमेर देखिने बुढी आमा सडकमै थिइन् । त्यहाँबाट तीन सयमिटर नजिकै एउटा शिवालय मन्दिर थियो । मन्दिरमा दर्शन गर्न जानेहरूले हातमा फूल प्रसाद लिएर हिडेका थिए । दुई जना युवतीहरू हातमा डिजिटल क्यामेरा लिएर आए । हातमा क्यामेरा अनि एक एकवटा झोला बोकेका , टिपटप बनेका थिए।
तिनीहरूलाई देखेर ती बृद्धले हात फैलाइन् ।
एउटी युवतीले भनी, ‘कस्ता कस्ता मान्छे छन् भने । सित्तैमा आउछ र ?
ए बुढियाँ ! तिम्रा छोराछोरी छैनन् ?’
भएर के गर्नु नानी ! हेर्दैनन् । ती कुलङ्गारले ।
बुढीले भनिन।”
“हाम्री बुढी झैँ कचकचे होलिन् । कसले पाल्छ र ?”
अर्की युवतीले भनी ।
ती बृद्धले आफ्नो आहाराको लागि याचना गरेकी थिएन् । उनीहरू हिँडे । पचाँस मिटर पर बाँदरको बगाल थियो । सुरूमा ती बाँदर देखेर तर्सिए झै गरे । एक जनाले क्यामेरा तेर्स्याइ । अर्कीले ब्यागबाट केरा, स्याउ झिकेर थोरै थोरै अड्कलेर बाँदरलाई दिई । बाँदरको बगाल आयो । केरा स्याउ खाए ।
बृद्धले बाँदरले खानेकुरा खाएको एक टकले हेरिरहेकी थिइन् ।
क्यामेरामा फोटोहरू कैद गर्ने अर्कीले भन्दै थिई,
“आहा! कस्तो राम्रो ! बाँदरले पनि क्यामेरा देखेपछि पोज दियो त ।
आज टिकटक र रिलमा भ्यूज त कति जाला है ?”
(लेखिका- विष्णु पन्थी गैंडाकोट २)