वृक्षारोपणले वातावरणीय सन्तुलन र समाज विकासमा मद्दत पुग्छ: वडा अध्यक्ष कँडल

गैंडाकोट, १६ श्रावण । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ गैंडाकोट र श्री दुर्गा सिद्धीदात्री मन्दिर कोटीहोम आश्रम (गैंडाकोट-१०) को संयुक्त आयोजनामा शनिबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। आश्रम परिसर तथा आसपासका क्षेत्रमा वर, पिपल, स्वामी, रुखकटहर, आँप, लिची, सितलचिनी र अम्बा लगायत ३०० भन्दा बढी बिरुवा रोपिएको हो।

 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गैंडाकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष देवीदत्त कँडेलले सामाजिक संस्था र मन्दिर व्यवस्थापन मिलेर वातावरण जोगाउन गरेको पहलको प्रशंसा गर्दै “बढ्दो सहरीकरण र वातावरणीय असरलाई कम गर्न वृक्षारोपण आजको मुख्य आवश्यकता हो। बिरुवा रोप्नु मात्र ठूलो कुरा होइन, यसको संरक्षण र हुर्काइमा पनि ध्यान दिनु आवश्यक छ। रोटरी क्लब अफ गैंडाकोट र कोटीहोम आश्रमले देखाएको यो अग्रसरताले हाम्रो वडालाई हरियाली बनाउन ठूलो योगदान पुग्नेछ। वडा कार्यालयको तर्फबाट यस्ता वातावरणमैत्री र सामाजिक कार्यहरूमा सधैँ पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए।

 

कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष रामहरी श्रेष्ठले रोटरीको मुख्य प्राथमिकता नै वातावरण संरक्षण भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बताउँदै “वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न हामीले यो सानो प्रयास गरेका हौँ। मन्दिर र आश्रम जस्ता पवित्र स्थल वरपर वृक्षारोपण गर्दा धार्मिक वातावरणका साथै हरियाली पनि प्रवर्द्धन हुन्छ। आज रोपिएका बिरुवाको उचित गोडमेल र संरक्षणका लागि आश्रम व्यवस्थापनसँग सहकार्य जारी राख्नेछौँ। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, सदस्य तथा स्थानीय महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गरे ।

 

कार्यक्रममा सब-डिभिजन वन कार्यालयका अधिकृत सन्तोष मिश्र, रोटरी डिस्ट्रिक्ट ३२९२ का सह-सचिव डा. प्रमोद पौडेल, कोटीहोम आश्रमका पिठाधिश योगी खेचरनाथ, आश्रमका संरक्षक मनोहरी कँडेल, पूर्व अध्यक्षहरू लगायत विभिन्न रोटरी पदाधिकारी, स्थानीय समाजसेवी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ गैंडाकोटका सचिव भूमिका तिमिल्सिनाले गरेकी थिइन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको