गैंडाकोट, ९ श्रावण । जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा ‘नेपाल-असममैत्री वाङ्मयप्रभा ज्येष्ठ जागरण अङ्क २’ मुखपत्रको लोकार्पण कार्यक्रम गैंडाकोटस्थित नारायणी रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष डिल्लीप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख (मेयर) मदनभक्त अधिकारी प्रमुख अतिथि रहेका थिए।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर मदनभक्त अधिकारीले जेष्ठ नागरिकहरूको ज्ञान र अनुभव समाजका लागि अमूल्य सम्पत्ति भएको बताउँदै उनले भने जेष्ठ नागरिकहरू हाम्रो समाजका इतिहास, संस्कार र मार्गदर्शनका मूल स्रोत हुन्। मुखपत्रका रूपमा प्रकाशित यस पुस्तकले जीवनका आरोह-अवरोह र अनुभूतिको सटिक सङ्गालो प्रस्तुत गर्दै भावी पुस्तालाई स्पष्ट मार्गनिर्देशन गर्ने काम गरेको छ। यस्ता ज्ञानवर्धक र इतिहास जोड्ने कृति प्रकाशन गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर नारायणप्रसाद खनाल र गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज बिनोदी रहेका थिए। त्यसैगरी भीमप्रसाद शर्मा, गोविन्द कोइराला,मदन थापा, दीपक गजुरेल, कृष्ण क्षेत्री, गोविन्द खतिवडा, कौशिला सुब्बा, कालिदास थपलिया, नारायण तिवारी, बालकृष्ण थपलिया, धनराज गिरी, रत्नप्रसाद सापकोटा तथा धनप्रसाद सापकोटा लगायतका बुद्धिजीवी एवं अतिथिहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा समाजका विभिन्न क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो।
संस्थाका केन्द्रीय उपाध्यक्ष डि.आर. पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण सचिव भूमीश्वर शर्माले गरेका थिए।







