लक्ष्मी हेल्प फाउन्डेसनका अध्यक्ष अधिकारी एनआरएनएन एसिया प्यासिफिकको उपसंयोजकमा नियुक्त

गैंडाकोट, १० श्रावण । नवलपुरको गैंडाकोट निवासी युवा समाजसेवी नारायण अधिकारी गैरआवासीय नेपाली सङ्घ (एन आर एन ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आई सी सी) अन्तर्गत एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा नियुक्त भएका छन्। मलेसियालाई प्रतिनिधित्व गर्दै उनी सो गरिमामय जिम्मेवारीमा चयन भएका हुन्।

 

गैंडाकोट नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा अधिकारी लामो समयदेखि सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन्। हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनले विदेशमा रहेर पनि स्वदेशका गरिब, विपन्न तथा असहाय नागरिकको सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

लक्ष्मी हेल्प फाउन्डेसनका अध्यक्ष समेत रहेका अधिकारीले नेपालका दुर्गम तथा विपन्न बस्तीहरूमा स्वास्थ्य शिविर सञ्चालन, राहत सामग्री वितरण, र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग जस्ता अनेकौँ परोपकारी कार्यहरूको नेतृत्व गरिसकेका छन्। सानै उमेरदेखि समाजसेवामा समर्पित अधिकारीको यो नियुक्तिले उनको व्यक्तिगत उचाइ मात्र नबढाएर समग्र गैंडाकोटवासीलाई नै गौरवान्वित बनाएको छ।

क्षेत्रीय उपसंयोजक पदमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अधिकारीले यो जिम्मेवारीलाई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका समस्या समाधान गर्ने थलोका रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 

“यो पद मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, यो त वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पसिना बगाइरहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूको साझा दायित्व र भरोसाको आधार हो,” अधिकारीले भने, “एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली श्रमिकहरूले भोग्नुपरेका कानुनी, भौतिक तथा मानवाधिकार सम्बन्धी समस्याहरूलाई नजिकबाट नियालेर तिनको ठोस सम्बोधन गर्न म सम्पूर्ण रूपमा समर्पित रहनेछु।”

 

अधिकारीको यो नियुक्तिले गैरआवासीय नेपाली सङ्घमार्फत विदेशमा रहेका श्रमिक नेपालीहरूको हकहित संरक्षणका साथै स्वदेशमा थप सामाजिक र मानवीय सहायताका गतिविधिहरूलाई व्यापक बनाउन ठूलो बल पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको