मैले बुझेको युवा समूह 

गैंडाकोट, कार्तिक १० । मानिसहरू सबैको स्वभाव र व्यबहार एउटै हुदैन।उमेर समूहको व्यबहार ठाउँ  अनुसार फरक हुन्छ । उमेर छिप्पिदैमा व्यबहार पाको हुने र कम हुदैमा कच्चा हुने पनि होइन। आफू रहेको समाजको शिक्षा र गतिविधिले पनि प्रभाव पार्दछ ।तर नेपालका जेन्जी उमेर समूहका युवाहरुको स्वभाव र गतिविधि फरक छ ।मेरो आफ्नो बिचारमा युवाहरू ५ प्रकारका हुन्छन् ।

(क )समूह :

राजनीतिज्ञ ठुला व्यापारी कलाकारका सन्तति जो आलिसान महलमा बस्छ महंङा स्कुल कलेजमा  पढ्छन् , महंगा गाडीहरू चढ्छन् डिस्को क्लब जाने ,बिदा मनाउन बिदेशका सुन्दर शहरको यात्रा गर्ने संचार प्रबिधि उपयोग गर्न जानेको तर घरायसी दैनिक जिबिकाको सीप नसिक्ने , सेवक राख्ने , बाबू आमा सुड्डो सुड्डी नामाकरण गर्ने बाबू आमासंग पैसा माग्ने बिलाशी सामान खरिद गर्ने यश आराम भोग बिलाशमा डुब्ने पुल्पुलिएको युवा समूह यो समूह भित्र पर्दछ। जसलाइ नेपो बेबि वा नेपो किड्स पनि भन्ने गरिन्छ। यो समूहमा धन दौलत शक्तिको घमण्ड रहन्छ। अरुलाइ होच्याउने ,  आफ्ना उच्च पदमा रहेको नातेदार को आडमा राष्ट्र स्रोत र शक्तिको दुरुपयोग गर्ने  र कानुन हातमा लिने , ठेक्का पट्टा लिने काम सरकारसंग हात पार्ने जस्ता काम गर्न रुचाउँछन् ।सच्चा देशभक्त युवाहरु यो समूहको गतिविधि मनपराउदैनन्।

(ख) समूह :

यो दलहरूबाट परिचालित बिकृत समूह हो। उदण्ड समूह हो। दलले आयोजना गर्ने कार्यक्रममा पैसा सुबिधा लिइ अराजक गतिविधि गर्ने तोडफोड आगजनी गर्ने , डनहरुको निर्देशनमा काम गर्ने, परि आए लुटपाट पनि गर्ने , कुलतमा फसेको समूह जुन बिदेशी दलालहरु , धर्म प्रचारक ,आतंकबादिहरु र  राजनीतिक दलको इशारामा परिचालित हुन्छ । पैसामा बिक्छ ।अभिभावकको नियन्त्रण भन्दा बाहिर रहन्छन्। अपरधिक गतिविधिमा संलग्न रहेका पनि हुनसक्छन्  । यो समुहमा बौद्धिकता र विवेक कम हुन्छ डिजिटल प्राबिधिक ज्ञान कम हुन्छ । यस समुहलाई “क”समुहले पनि उपयोग गर्न सक्छ।यसले करोडौंको सम्पत्ति छिनभरमै स्वाहा बनाउन सक्छ । जनता यसको प्रतिबाद गर्न डराउछन्। सुरक्षाकर्मिले  नै यिनिहरुको गतिविधि नियन्त्रण गरोस् भन्ने आशा गर्दछन्।

(ग )समूह :

यो समूह प्राबिधिक डिजिटल दुनियाँमा दखल राख्छ। साइवरको भरपुर उपयोग गरि सूचनाहरु छिटो प्रवाह गर्न जानेको हुन्छ । राम्रा नराम्रा कन्टेन्टहरु तयार गरि समाजमा चेतना फैलाउने काम गर्न  सक्छ । धेरै मोबाइल र डिजिटल साधनहरु चलाउन जान्ने भएकोले यिनिहरु डिजिटल साधनका माध्यमबाट  समाजका ब्यक्तिहरु सम्पर्कमा हुन्छन् । यो समुहको सूचना प्रबाह गर्ने कुशलताले जनताको जिविकामा ठुलो असर पार्दछ। डिजिटल माध्यमबाटै राम्रो कमाइ गर्छन् । यिनिहरु राजनीति गर्न तेति रुचाउदैनन्। यो समूह बौद्धिक हुनाले अराजक गतिबिधीमा लाग्दैनन्।यो समूह संख्या बढी  हुन्छ ।

(घ )समूह :

यो समूह मद्यम र निम्न बर्गिय भित्रको अनुशाशीत र अध्यनशिल समूह हो।अभिवावकको परिवारको सुखदुख बुझेको हुन्छ जिउने कला बुझेको हुन्छ । जिविकाको लागि धेरै सीप सिकेको हुन्छ ।खर्चालु हुदैन।प्राबिधिक ज्ञानका साथै देश , राजनीति , समसामयिक कुरा बुझेको हुन्छ ।नेतृत्व लिनसक्ने कलाको विकास हुन्छ । बिरोध र समर्थन गर्ने सभ्य शैली हुन्छ । सहि र गलत छुट्याउन सक्छन् ।विश्लेषण गरेर मात्र निर्णयमा पुग्छन् । क र ख वर्गले यो समूह मनपराउदैनन्। यो सिर्जनशील युवा समूह हो। संख्याको हिसाबले यो ठूलो हुन्छ । यो समूहका युवाहरू  राजनीतिमा नेतृत्व गर्न रुचाउँछन्  इमानदार र पारदर्शी हुन्छन् ।ग र घ बर्गका युवाहरूले क र ख बर्गका युवाको गतिविधिलाई नियन्त्रण गर्न सक्यो भने देश बिकास फड्को मार्न सक्छ । जनतालाई खुशी र शान्ति दिन सक्छ।

(ङ)समूह

यो रंगलाई प्राथमिकता दिने समूह हो।हामी पहाडी , हामी मधेसी , हामी काला वा गोरा, हामी बाहुन,हामी क्षेत्री हामी यो जातको हाम्रो मात्र पहिचान स्थापित हुनुपर्छ । अरु हाम्रो अगाडि केही होइन भनी अरुलाइ होच्याउने , जातीय बर्गिय रंग विभेद र छुवाछूत प्रथालाई बढवा दिने बिखन्डनकारी समूह हो। जुन संख्यामा कम हुन्छ तर जातीय दंगा बढाइ आफ्नो स्वार्थ पूरा गर्दछ।

समूह क ख र ङ लाई सुधार गर्न समूह ग र घ ले सक्यो भने देश बन्न बेरै लाग्दैन।

देश भक्तिले भरिएको युवाहरूको नाम जे भए पनि टाइटल थर एउटै बनोस् जेन्जि जसले युवामा रहेको बिसंगती र बिकृतिलाइ न्यूनीकरण गरि राष्ट्र निर्माणमा लगाउन सकोस् । विशेष गरि क ख र ङ  समुहहरुलाइ तालीम र चेतना दिइ असल नागरिक बनाउन कार्यक्रम बनाउन जरुरी हुन्छ। समाजलाई टुक्र्याउने बिभाजित गर्ने तत्वको पहिचान गरि उनिहरुका गलत हर्कत र  क्रियाकलापलाई  सरकारले रोक्न सकोस् । बिगतमा राजनीतिक दलहरूले पहिचानको नाममा नेपाली जनतालाई टुक्राटुक्रा पारी स्वार्थ सिद्दी गरे त्यसैले राष्ट्रियता कम्जोर भयो। हामी बिच दरार पैदा गरियो । यो भन्दा माथी उठेर  बिभजित नभई राष्ट्र निर्माणको अभिभारा तपाई युवाहरुको काधमा आएको छ। गुटगत स्वार्थ भन्दा राष्ट्र हितको काम गर्नु युवाको दायित्व हो।  सम्मानजनक संस्कार र त्यागपुर्ण सादकी व्यबहार जेन्जी युवाले देखाउन सके बल्ल सुशासन ,शान्ति र बिकास हुन्छ ।

नेपाल र नेपाली भबिस्य अब तपाईं जेन्जि युवाहरुको त्याग , सहिष्णुता , इमानदारीता, जिम्मेवारी बहन , देश प्रेम , एकता , पारदर्शी कर्म आदिमा निर्भर गर्दछ। शुभकामना !

 

लेखक-तीर्थराज रिमाल

गैंडाकोट ५ नवलपुर

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको