गैंडाकोट, असोज १७ । गैंडाकोट वडा नम्बर १ मा स्थित नवदुर्गा टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टेकबहादुर रेग्मीको अध्यक्षतामा आयोजित उक्त सभा गैंडाकोट वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले टोलको समग्र विकास र शान्ति सुरक्षा कायम राख्न टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, “स्थानीय स्तरका समस्या पहिचान गरी समाधान गर्न र वडाका विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन टोलवासीको एकता र सहकार्य अपरिहार्य छ। नयाँ कार्यसमितिले टोलको हितका लागि रचनात्मक काम गर्नेमा म विश्वस्त छु र वडा कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।”
उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा निवर्तमान वडाध्यक्ष हरि सापकोटा तथा मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा रहेका थिए। साथै लक्ष्मी चालिसे, चेलीमाया सारु, प्रेमकुमारी बिक, निशापाटा मगर, तर्कबहादुर थापा र रामकृष्ण कोइराला लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो। अधिवेशनले दोस्रो कार्यकालका लागि टेकबहादुर रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नारायण कोइराला संयोजक, सुरेश अर्याल र सिर्जना लम्साल सदस्य रहेको निर्वाचन समितिले गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम अधिकारी, सचिवमा वीरबहादुर बिक, सह-सचिवमा लक्ष्मी कुमाल, कोषाध्यक्षमा जीवन कुमार कुमाल र सह-कोषाध्यक्षमा भेषबहादुर खण्डलुक चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा देवबहादुर राना, शोभा बिक, हरिमाया मल्ल, मायादेवी शर्मा र नितु श्रेष्ठ रहेका छन्। अधिवेशनले पूजा आचार्य संयोजक र रमा जमकट्टे सदस्य रहेको लेखा समितिको समेत गठन गरेको छ। यसका साथै बसन्त शर्माको संयोजकत्वमा पूर्वबहादुर थापा मगर र पछि केही सदस्यहरू थप गर्ने गरी सल्लाहकार समिति पनि तयार पारिएको छ।
गजेन्द्र लम्सालको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा सह-सचिव वीरबहादुर विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण सचिव ऋषिराज दर्नालले गरेका थिए।







