गैंडाकोट, १६ असोज । नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा देवचुली नगरपालिकामा पर्ने पशुपति वैदिक आश्रम प्रगतिनगरको प्राङ्गणमा शुक्रबार वृहत् दन्त उपचार शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष पुरुषोत्तम भुसालको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
देवचुली नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुरेन्द्रकुमार रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो शिविरमा संघका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा सर्वसाधारण गरी कुल ६३ जनाले दन्त परीक्षण तथा परामर्श सेवा लिएका थिए। कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष सुरेन्द्रकुमार रानाभाटले सम्बोधन गर्दै व्यवसायीहरूले व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्नु प्रशंसनीय रहेको बताउँदै स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, र आफ्ना सदस्यहरूसँगै स्थानीय समुदायको स्वास्थ्यप्रति संघले देखाएको यो सजगता उदाहरणीय छ,” वडाध्यक्ष रानाभाटले भने।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवं नेपाल विद्युतीय व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष लेखनाथ सापकोटाले व्यवसायीहरूको हकहित रक्षाका साथै सामाजिक सेवामा संघले खेलेको भूमिकाको सराहना गर्दै सापकोटाले “पेसागत हकहितका लागि संगठित भएका संघ-संस्थाहरूले यसरी जनलक्षित सामाजिक काम गर्दा समाजमा सकारात्मक सन्देश जाने भएकाले महासंघको तर्फबाट यस्ता रचनात्मक कार्यहरूलाई सधैँ पूर्ण सहयोग र समर्थन रहनेछ।”
कार्यक्रमका अध्यक्ष एवं नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुसालले जिल्लाभित्र रहेका व्यवसायीहरूको हकहितका लागि संघ सदैव क्रियाशील रहने प्रतिबद्धता जनाउँदै “व्यवसायीको हकहित संरक्षणसँगै रक्तदान, स्वास्थ्य परीक्षण, दन्त शिविर जस्ता सामाजिक क्रियाकलापमा पनि संघ निरन्तर अग्रसर रहनेछ।”

उक्त कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक सुजन अधिकारी, चितवन विद्युत व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद चालिसे, अतिथिहरू बलराम खनाल, स्मृति सुवेदी, दिपेन्द्र चापागाईं, कृपा पोखरेल, हुमानाथ जैसी, अग्निप्रसाद पाण्डेय लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। संघका उपाध्यक्ष गणेश सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण संघका सचिव ध्रुव न्यौपानेले गरेका थिए ।







