तनहुँ, असोज १५ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको आधिकारिक कार्यतालिका सार्वजनिक भएसँगै तनहुँको देवघाट गाउँपालिकामा राजनीतिक चहलपहल बढेको छ।
महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सफल पार्न स्थानीयस्तरमा संगठनात्मक तयारीलाई तीव्रता दिइएको छ।
नेपाली कांग्रेस देवघाट गाउँपालिकाका संयोजक योगी प्रमोद मल्लले आगामी १५ औँ महाधिवेशनलाई एकता र संगठन सुदृढीकरणको अवसरका रूपमा लिन सम्पूर्ण नेता-कार्यकर्तालाई आह्वान गरेका छन् । संयोजक मल्लका अनुसार महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुनेछ भने त्यसअघि तल्लो तहका अधिवेशनहरू निम्न अनुसार चरणबद्ध रूपमा सञ्चालन गरिनेछ।
वडा अधिवेशन
असोज १५ गते
देवघाटका सम्पूर्ण वडाहरूमा प्रारम्भिक तहको नेतृत्व तथा महाधिवेशन प्रतिनिधि छनोट सुरु हुने।
गाउँ/नगरपालिका अधिवेशन
असोज १७ गते
देवघाट गाउँपालिका तहको नयाँ नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने।
प्रदेश सभा क्षेत्रीय अधिवेशन
असोज २३ गते
प्रादेशिक निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनोट तथा अधिवेशन सम्पन्न हुने।
जिल्ला अधिवेशन
कार्तिक १५ गते
तनहुँ जिल्ला नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि अधिवेशन आयोजना हुने।
प्रदेश अधिवेशन
मंसिर ४ गते
गण्डकी प्रदेश स्तरीय नेतृत्व चयनका लागि प्रादेशिक अधिवेशन हुने।
केन्द्रीय महाधिवेशन
मंसिर २१ – २३ गते । आन्तरिक लोकतन्त्र र देवघाटको विकासमा जोड महाधिवेशन तयारीबारे जानकारी दिँदै संयोजक योगी प्रमोद मल्लले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै पार्टीभित्र एकता कायम राख्नु अहिलेको मुख्य आवश्यकता भएको बताए” हामी वडा र टोलस्तरसम्म पुगेर कार्यकर्ताको भावना बुझ्दैछौँ। संगठन निर्माणमा निरन्तर खट्ने, निष्ठावान् र लोकप्रिय युवाहरूलाई उचित जिम्मेवारी दिलाउन पहल गरिने बताउँदै “धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटको समग्र विकास, पूर्वाधार निर्माण र सामाजिक रुपान्तरणका लागि नेपाली कांग्रेसको सबल नेतृत्व अपरिहार्य छ।” उनले तोकिएको समयसीमाभित्रै सबै तहका अधिवेशनहरू अनुशासित, पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न देवघाटका सम्पूर्ण कांग्रेसप्रेमी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई अनुरोध समेत गरेका छन् ।







