नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) कार्तिक १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। अग्रजको अनुभवको सम्मान, युवा ऊर्जा र महिला नेतृत्वको सशक्त उपस्थितिलाई आत्मसात् गर्दै उनले आफ्नो उम्मेदवारी अघि सारेकी हुन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेकी सापकोटालाई शैक्षिक चेतना, राजनीतिक अनुभव र व्यावहारिक नेतृत्व क्षमताको गतिशील संयोजनका रूपमा हेरिएको छ। विगत दुई दशकदेखि नेविसंघको राजनीतिबाट यात्रा सुरु गरेकी उनले नेपाल महिला संघ हुँदै नेपाली कांग्रेसको जिल्ला सदस्यसम्मको सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छन्।
राजनीतिक निष्ठाका साथै उद्यमशीलतामा समेत सक्रिय सापकोटाले आफ्नै नेतृत्वमा सफल विद्यालय सञ्चालन गरी शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छन्। उनको यो अनुभवले व्यवस्थापकीय दक्षता र सामाजिक उत्तरदायित्वलाई बलियो बनाएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले अग्रजहरूको मार्गदर्शनमा युवा पुस्ताको नवीन सोच र महिलाको नेतृत्व क्षमतालाई संगठन निर्माणमा जोड्ने संकल्प व्यक्त गरेकी छन्। सबल, समावेशी, गतिशील र एकताबद्ध कांग्रेस निर्माणलाई प्राथमिकतामा राख्दै उनले नयाँ सोच र सशक्त संगठनका लागि सबै पक्षसँग साथ, विश्वास र समर्थनको अपिल गरेकी छन्।
राजनीतिक निरन्तरता, उच्च शैक्षिक योग्यता, शैक्षिक उद्यमशीलता र महिला नेतृत्वको संयोजनसहित अघि बढेकी सापकोटाको उम्मेदवारीलाई नवलपुर कांग्रेसमा समयानुकूल, समावेशी र सक्षम नेतृत्व स्थापित गर्ने बलियो विकल्पका रूपमा हेरिएको छ।







