शिक्षा, कानुन र उद्यमशीलताको अनुभवलाई स्थानीय विकासमा जोड्ने अधिवक्ता प्रकाश सापकोटाको सङ्कल्प

गैंडाकोट, कार्तिक १८ ।नवलपुरको गैंडाकोट नगरपालिकाको नगरप्रमुख (मेयर) पदका सम्भावित उम्मेदवार अधिवक्ता प्रकाश सापकोटाले आफ्नो शैक्षिक, व्यावसायिक तथा कानुनी अनुभवलाई स्थानीय तहको विकास र सुशासनमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नगरप्रमुख पदका सम्भावित उम्मेदवारहरूको संवाद तथा अन्तरक्रिया क्लबमा सहभागी हुँदै उहाँले गैंडाकोटको समग्र विकासका लागि आफ्नो अवधारणा र भावी सोच सार्वजनिक गरेका हुन् ।

​लामो समयदेखि उद्यमशीलता तथा व्यावसायिक क्षेत्रमा सक्रिय सापकोटासँग कानुन, अर्थशास्त्र र राजनीतिशास्त्रको राम्रो अध्ययन तथा व्यावहारिक अनुभव रहेको छ। उहाँले ‘एलएलबी’ (LL.B.) पूरा गरी अधिवक्ताका रूपमा कानुनी सेवा प्रदान गर्दै आउनुभएको छ भने ‘एमबीएस’ (MBS – Finance) मा वित्तीय व्यवस्थापनको दक्षता र राजनीतिशास्त्रमा ‘एमए’ (MA) अध्ययन गरी राजनीतिक तथा सामाजिक विषयको गहराई बुझेका छन्। व्यवसाय सञ्चालनका क्रममा हासिल गरेको व्यवस्थापकीय ज्ञान, आर्थिक गतिविधिको बुझाइ र कानुनी साक्षरतालाई स्थानीय सरकारको नीति निर्माण तथा प्रशासन सञ्चालनसँग जोड्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।

​नगरलाई आर्थिक रूपमा समृद्ध, सुशासित, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित अगाडि बढ्नुभएका सापकोटाले भने, “शिक्षा, कानुनी स्पष्टता र वित्तीय व्यवस्थापनको अनुभवलाई स्थानीय तहको योजना कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा उपयोग गर्दै गैंडाकोटलाई उत्कृष्ट र आधुनिक नगरका रूपमा विकास गर्न म प्रतिबद्ध छु।”

​स्थानीय विकास, आर्थिक गतिविधि विस्तार र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढेका सापकोटाको उम्मेदवारी चर्चालाई गैंडाकोटका स्थानीय नागरिक तथा बौद्धिक वृत्तले चासोका साथ हेरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको