गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १४ देखि १७ सम्म वन क्षेत्र रहेको सुन्दरी सामुदायिक वन उपभोक्ता समूहको २४ औं साधारणसभा सम्पन्न भएको छ । अमरापुरी १४ मा कार्यालय रहेको समूहको साधारणसभा कार्यालय परिसरमा शुक्रबार सम्पन्न भएको हो । समुहका अध्यक्ष रामलाल गैरेको अध्यक्षतामा भएको २४ औं साधारणसभामा डिभिजनल वन कार्यालय, नवलपुरका अधिकृत मोहनराज काफ्ले प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरीले २०५२ सालदेखि अहिलेसम्म अवस्थालाई समीक्षा गर्यो भने यसले विभिन्न समयमा गणेशमान सिंह संरक्षण पुरस्कार र अब्राहम संरक्षण पुरस्कार प्राप्त गर्दै आएको छ, यसबाट समूहले सफलता प्राप्त गरेको सावित हुने बताउनुभयो ।
काफ्लेले सरकारले ल्याएका पछिल्ला नीतिहरूको कारण वन उपभोक्ता समुहहरु चिन्तित हुन नपर्ने र त्यसलाई समुहको बिशेष भेलाले मिलाउन सकिने बताउँदै वनको संरक्षण र सम्बर्धनमा विगतदेखि अहिलेसम्म भएका नीतिगत परिवर्तनहरुको बारेमा प्रस्ट पार्नुभयो । उहाँले अहिले आएर वनले पैदावार दिन थालेपछि त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे व्याख्या पनि जानकारी दिनुभएको थियो । हालैमात्र वैज्ञानिक वन खारेजी हुँदा हामीलाई पनि दुविधा भएको छ भन्दै उहाँले यसको प्रभाव केही समय पछिसम्म पर्ने, तर सरकारले छिट्टै छुट्टै वन व्यवस्थापनको पाटो बनाएर अगाडि बढ्ने आशा गरेको बताउनुभयो । धेरैजसो अन्य समुहहरुमा बनले गरेका गतिविधिहरुका रेकर्डहरु नभएको् पाईएकोले उहाँले सुन्दरी सामुदायिक वन समूहलाई यस अघि गरेका कामहरुको र अव गर्ने गतिबिधिहरूको समेत अभिलेखीकरण गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा आफ्ना भनाईहरु राख्दै सुन्दरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल गैरेले दुई वर्षसम्म कटान अनुमति नहुँदा असुविधा भएको गुनासो गर्दै जन्मेदेखि दाहसंस्कारसम्म कामलाग्ने काठको कटान नहुँदा उपभोक्ताहरुलाई समस्या भएकोले आम उपभोक्ताहरुका लागि दैनिक उपभोग्य काठ दाउरा खुला गरिदिन आग्रह समेत गर्नुभयो ।
समूहका उपाध्यक्ष केशवप्रसाद शर्मा रिजालले मन्तव्य मार्फत स्वागत गर्नुभएको २४ औं साधारणसभामा सचिवको प्रतिवेदन सचिव राधा पौडेल पाण्डेले प्रस्तुत गर्नुभएको थियो । २४ औं वार्षिक साधारण सभामा आन्तरिक लेखापरीक्षण समितिका संयोजक गोविन्दराज न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी साधारणसभामा समूहकी कोषाध्यक्ष ज्योति गुरुङले आर्थिक बर्ष २०७६/७७ को नीति तथा प्रस्तावित आय ब्यायको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा चौतरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेरबहादुर गुरुङ, वन उपभोक्ता महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, बौद्धिक व्यक्तित्व खेमप्रसाद सापकोटा, अमरापुरी खानेपानी संस्थाका अध्यक्ष गोपी कँडेल, जनमुखी कलेज व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र सापकोटा, सल्लाहकार समितिका सदस्य मानबहादुर रानाभाट, पूर्वअध्यक्ष एवम् सल्लाहकार चक्रपाणी खनाल, पूर्वअध्यक्ष तथा सल्लाहकार बद्रीप्रसाद सापकोटा र फेकोफनका नवलपुर कोषाध्यक्ष होम नाथ पाण्डेय लगायतका रहनुभएको थियो । कार्याक्रमको संचालन समुहकी सचिव राधा पौडेल पाण्डेले गर्नुभएको थियो ।