गैँडाकोट, कार्तिक १८ । स्थानीय तहको आगामी निर्वाचन नजिकिँदै गर्दा गैँडाकोट नगरपालिकामा नयाँ राजनीतिक बहस र उत्साह थपिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विचार र परिवर्तनको अभियानसँग जोडिँदै गैँडाकोट नगरपालिकाको उपप्रमुख पदका लागि प्रथम चरणको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत ‘Candidate Club’ मा एक नयाँ र प्रेरणादायी अनुहारले अस्मिता घिमिरेले आफ्नो दाबी प्रस्तुत गरेकी छिन्।
आफ्नो व्यावसायिक यात्रालाई व्यवस्थित गर्दै आगामी १० वर्ष पूर्ण रूपमा सामाजिक सेवामा समर्पित गर्ने दृढ संकल्पका साथ उनी राजनीतिमा होमिएकी हुन्। ठूला र खोक्रा आश्वासनभन्दा स्पष्ट योजना र परिणाममुखी काममा विश्वास गर्ने उनले बताएकी छिन्। “नयाँ पदका लागि होइन, नयाँ सोच र सुशासनका लागि” आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले राजनीतिलाई पद वा व्यक्तिगत पहिचानको सिँढी नभई जनताको विश्वास र सेवा गर्ने पवित्र माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।“म नयाँ पद वा पहिचानका लागि होइन, नयाँ सोच, स्पष्ट उद्देश्य र जनताप्रतिको जिम्मेवारीबोधका साथ अघि बढेकी छु,” उनको भनाइ छ, “इमान्दारिता, पारदर्शिता र सुशासनलाई जीवनको मूल मन्त्र मान्दै यहाँसम्म आइपुगेकी छु।”
आत्मनिर्भर गैँडाकोटको परिकल्पना
स्थानीय स्रोत, सीप र परम्परागत उत्पादनलाई आधुनिक उद्योगसँग जोड्दै स्वावलम्बी र आत्मनिर्भर समाज निर्माण गर्ने उनको मुख्य आर्थिक एजेन्डा रहेको छ। परम्परागत शैलीलाई बदलेर स्पष्ट कार्ययोजनासहित स्थानीय जनताको जीवनस्तर उकास्ने उनको मुख्य लक्ष्य छ।
रास्वपाको उम्मेदवार छनोट प्रक्रिया (Candidate Club) मा सहभागी भएकी उनले गैँडाकोटका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूबाट आफ्नो यस पवित्र यात्राका लागि हार्दिक शुभेच्छा, साथ, अमूल्य सुझाव र आशीर्वादको अपेक्षा गरेकी छिन्।







