काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयन सहमतिबाटै गरिने बताएका छन् । बन्दसत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन् ।
सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै प्रचण्डले सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए । उनले भने – सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ । सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुन्छ । हामी जरुरी पर्दा कुनैपनि लोकतान्त्रिक प्रयास गर्नेगर्दर्छौ । तर जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुन्छ ।
दुई घण्टामा सहमति नजुटे प्रक्रियामा जाने उनले बताए । भुगोलबाट सात र एक गैरभौगोलिकबाट गरि ८ प्रदेश भित्र तोकिए कोटा अनुसार ५ बजे प्यानल पेस गरिने छ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ ।
महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ ।
केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।